जनता टाइम्स

२६ जेष्ठ २०७७, सोमबार १९:१५

रुकुम घटनाको छानविन गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन


काठमाडौं, जेठ २६

प्रतिनिधि सभाले रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन गरेको छ । केही समय अघि गठन गर्ने गरेको निर्णयलाई आज पूर्णता दिइएको हो ।

नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको सभामुख अग्निप्रसाद सापकोटाले संसदमा घोषणा गर्नुभयो । संसदीय विशेष समिति सदस्यमा सांसदहरू इकवाल मियाँ, दुर्गा पौडेल, पावर्ती विशुंखे, प्रकाश सराइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहनु भएको छ । समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

समितिलाई आफ्नो कार्यविधि आफै बनाउन र आवश्यक परे केही आमन्त्रित सदस्य थप गर्न सक्ने अधिकार पनि दिइएको छ । चौरजहारी घटनामा नवराज विक लगायत ६ जना जाजरकोटका युवाको हत्या भएको थियो । दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा उक्त घटना भएको थियो ।