जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार १०:२३

धनुषामा गोली प्रहारबाट युवकको हत्या, प्रहरी हिरासतमै युवकले आत्महत्या गरेपछि धनुषामा तनाव


धनुषा,  जेठ २८  । जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । प्रनाउ कार्कीका अनुसार मण्डलको छातीमा एक गोली प्रहार भएको देखिएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगी गोली प्रहार गरी मण्डलको हत्या गरेको जस्तो देखिएको बताउनुभयो । हत्या कसले र किन गरेको हो खुल्न सकेको छैन । शवको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भएको र घटनाका विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यसैवीच धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका युवाले आत्महत्या गरेपछि यहाँको अवस्था तनावग्रस्त बनेको छ । सवारी ज्यान मुद्दामा पक्राउ परेका २२ वर्षीय शम्भु सदाले थुनुवा कक्षभित्रै पासो लगाएर आत्महत्या गरेका छन् । उनले आत्महत्या गरेपछि जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट प्रहरी कार्यालय र गाडीका सिसाहरु फुटेका छन् ।