जनता टाइम्स

३० जेष्ठ २०७७, शुक्रबार १४:२८

सर्लाहीको सीमा घटना : हतियार खोसेर भाग्ने भारतीयको सशस्त्रको कारवाहीमा मृत्यु


सर्लाही, जेठ ३०

सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको हतियार खोस्न आएका भारतीय नागरिकबीच शुक्रबार झडप हुँदा एक जनाको मृत्यु भएको छ । भारतीय नागरिकले सशस्त्र प्रहरीको हतियार खोसेर भाग्न थालेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारत सितामाढी जिल्ला पिप्रा प्रर्सैनी पंचायताका २७ वर्षीय विकेश कुमारको ज्यान गएको हो ।

एक सय जनाभन्दा बढीको समूहमा आएका भारतीयले नारायणपुरमा रहेको सशस्त्र प्रहरी पोष्ट माथि घेरा हालेर हतियार खोसेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिनुभयो । भारतीय समूहले खोसेर लगेको हतियार सशस्त्र प्रहरीले फिर्ता ल्याएको छ ।

भिडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १० राउण्ड फायर गरेको बताएको छ । सशस्त्र प्रहरीको गोली लागेर २ जना भारतीय नागरिक घाइते भएका छन् भने भारतीय नागरिकको आक्रमणबाट चार जना सशस्त्र प्रहरी पनि घाइते भएका छन् ।