सोलुखुम्बु, असार २
तत्कालिन नेकपा एमालेबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएका ङिम दोर्जी शेर्पाको निधन भएको छ । आन्द्राको क्यान्सरसँग लडिरहनु भएका अध्यक्ष शेर्पाको मंगलबार बिहान ८ः३० बजे ३९ बर्षको उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनुभयो ।
विगत १० महिना देखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि थलिनु भएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टर मार्फत जन्मस्थल लुक्ला ल्याईएको थियो । खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय युवा नेता मानिने शेर्पाको पछिल्लो समय काठमाडौँको ह्याम्स अस्पतालमा केमो थेरापी गराइएको थियो । चिकित्सककाअनुसार शल्याक्रिया गर्नुपर्ने भएपनि तौल कम हुँदा उपचार गर्न नसकिएको हो । स्वास्थ्य अवस्था स्थिर देखिएको कारण चिकित्सकले नै घर लैजान सुझाव दिएपछि लुक्ला ल्याएको प्रवक्ता शेर्पाले बताउनु भयो ।
दश महिना पहिले भारतको मेतान्द अस्पतालमा भर्ना भएका शेर्पाले त्यहाँ दुई महिनासम्म रेडियो थेरापी गराउनु भएको थियो । अध्यक्ष शेर्पाले उपाध्यक्ष टसील्हमू शेर्पालाई जेठ १२ गते देखि कार्यवहाक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । पुर्व एमालेबाट निर्वाचित शेर्पा नेकपा सोलुखुम्बुको जिल्ला कमिटि सदस्य पनि हुनुहुन्थ्यो । उहाका तीन छोरा छन् ।
प्रतिक्रिया दिनुहोस्