पर्वत, असार ३
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो ।
गएको शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयबासी लागेका थिए । योसँगै मृतक ९ जनाको शव भेटिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुर झिकाएर समेत मंगलबार दिनभर खोजी गरिएको भएपनि आज बिहान स्थानीयबासीले शव फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिनुभयो ।
पहिरोमा परि मृत्यु भएका तुलबहादुर थापाको परिवारका ४ जना र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीबेणीमा सोमबार सामूहिक अन्तेष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्