जनता टाइम्स

१५ असार २०७७, सोमबार १८:०३

नेपालमा कोरोना संक्रमणको उच्च बिन्दु कहिले पुग्छ ?


कोरोना भाइरस आरएनए भाइरस रहेको तथा आरएनएको छिट्टै नै नष्ट हुने भएको हुँदा कोल्ड चेन मेन्टेन नगरेमा तथा तत्काल परीक्षण नगरेमा आरएनए नष्ट भएर संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आउन सक्छ । यो तथ्यलाई ध्यान दिनु जरुरी छ 

डा. रवीन्द्र पाण्डे

बिगत धेरै दिनपछि दैनिक संक्रमितको संख्या ४००–७०० को बीचमा छ । सामान्यतया कोरोना संक्रमणको ट्रेण्ड यस्तो प्रकारको हुँदैन । रोग नियन्त्रण हुने समयमा जब कर्भ फ्ल्याट हुन्छ, त्यो अवस्थामा अहिलेको ट्रेण्ड देखिन्छ । नेपालमा कोरोना संक्रमणको उच्च बिन्दु कहिले पुग्छ ? भन्नेबारे बैज्ञानिक आधार छैन । सरकारी, सामुदायिक तथा नीजी प्रयोगशालाबीच समन्वय गरेर जाँचको दायरा दैनिक १५ हजार पुर्याउन सकिन्छ । यसको लागि सरकारले स्टकमा रहेका स्याम्पल नीजी ल्याबलाई दिने तथा त्यसबापत नीजी ल्याबलाई सरकारले शुल्क तिर्ने ब्यबस्था गर्दा आम जनतामा आर्थिक बोझ पर्दैन ।

हामीकहाँ मोलिकुलर बैज्ञानिक, माइक्रोबायोलोजिष्ट तथा भाइरोलोजिस्टको दक्ष जनशक्तिलाई सरकारले उपयोग गरेको देखिएको छैन । त्यो दक्ष जनशक्तिलाई सामान्य सिस्टमबारे तालिम दिएर खटाउने हो भने २४ घण्टा नै परीक्षण गर्न सम्भव छ । कोरोना भाइरस आरएनए भाइरस रहेको तथा आरएनएको छिट्टै नै नष्ट हुने भएको हुँदा कोल्ड चेन मेन्टेन नगरेमा तथा तत्काल परीक्षण नगरेमा आरएनए नष्ट भएर संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आउन सक्छ । यो तथ्यलाई ध्यान दिनु जरुरी छ ।

भारतबाट नेपाल फर्किने नागरिकको गाउँमा, सिमावर्ती जिल्लामा तथा ठूला सहरमा परीक्षणको दायरा नबढाएसम्म संक्रमण कुन स्तरमा पुगेको छ भनेर यकिन गर्न सकिंदैन । त्यसैले परीक्षणलाई अभियानको रुपमा संचालन गर्नु जरुरी छ । स्वेच्छाले पिसिआर टेस्ट गर्न चाहनेलाइ पेइङ क्लिनिक वा निजि ल्याबबाट परीक्षण गर्ने ब्यबस्था पनि गर्न सकिन्छ । धनी व्यक्तिलाई राज्यले निशुल्क परीक्षण गर्नुभन्दा त्यो शुल्कलाई आम जनताको परीक्षणमा खर्च गर्नु न्याय संगत हुन्छ ।

सरकारी तथा नीजि क्षेत्रका बिज्ञहरुले कोरोना संक्रमणको यो एकै गतिलाई विश्लेषण गर्नु जरुरी छ । यो विश्लेषण र ब्यापक परीक्षणबाट ४–५ दिनमै हामीले संक्रमणको गति र चरण बुझ्न तथा त्यहीअनुसार रणनीति बनाउन सहयोग मिल्नेछ । अन्यथा हामीलाई कोरोना संक्रमण भुसको आगो भएको छ कि उच्चबिन्दुमा पुगेर झर्दैछ भन्ने यथार्थता थाहा हुँदैन । यथार्थता थाहा नभएको अवस्थामा कुहिरोको काग बन्नुको कुनै बिकल्प हुँदैन ।