जनता टाइम्स

१५ असार २०७७, सोमबार १९:१०

राष्ट्रिय सहकारी बैंकको २४ वटा शाखा थप हुँदै, यी ठाउँमा खुल्नेछन शाखा


काठमाडौं, असार १५ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका २४ वटा शाखा थप हुने भएका छन । हाल ४४ शाखामार्फत देशभरका सहकारी संंघ संस्थाहरुसंग वित्तीयलगायत सहकारीको प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको सो बैंकको २४ शाखा थप हुने भएको हो ।

राष्ट्रिय सहकारी बैंकको माग, सहकारी विभागको सिफारिसका आधारमा नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखाका थपका लागि अनुमति दिएको सो बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो । बैंकको शाखा सञ्चालन कार्यविधिको अधिनमा रहने गरी थप २४ वटा शाखा खोल्नका लागि आज नेपाल राष्ट्र बैंकले अनुमति दिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकमा ८४ स्थानमा शाखा सञ्चालनका लागि माग गरिएको र पहिलो चरणमा बैंक सञ्चालनका लागि प्रक्रिया पुगेका २४ स्थानमा शाखा खोल्नका लागि अनुमति प्राप्त भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बद्री गुरागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार अनुमति दिएका शाखा सञ्चालनसंगै थप शाखाका लागि प्रक्रिया अगाडि बढाइने छ ।

नेपाल राष्ट्र बैंकले भक्तपुरको कमलविनायक र सूर्यविनायक, ललितपुरको इमाडोल, काठमाडौंको नारायणगोपाल चोक, जोरपाटी चोक, नयाँ बजार, पुतली सडक, कालिमाटी, कोटेश्वर, किर्तिपुर र बलम्बुमा शाखा सञ्चालनका लागि अनुमति दिएको छ । यस्तै दाङको तुल्सीपुर, कास्कीको तालचोक, बाराको कलैया, बाँकेको नेपालगञ्ज, मोरङको सुन्दरहरैचा, चितवनको टाँडी, बर्दियाको भुरीगाउँ, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको इनरुवा, रुपन्देहीको भैरहवा र तिलोत्तमा, झापाको मेचीनगर र स्याङ्जाको पुतली बजारमा शाखा सञ्चालनको अनुमति दिएको सो बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको अनुमतिसंगै शाखा सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने सिइओ गुरागाइले जानकारी दिनुभयो । नेपाल सरकार र देशभरका करिव १२ हजार सहकारी संघ संस्था सदस्य रहेको बैंकले ४४ शाखा मार्फत २ अर्ब ९ करोड, निक्षेप ३६ अर्ब ५० करोड र कर्जा लगानी २३ अर्ब रहेको छ ।