जनता टाइम्स

२९ असार २०७७, सोमबार १२:५०

यातायात व्यवसायीको सिन्डिकेट तोडर मयूर यातायातद्वारा काठमाडौंमा सेवा शुरु


काठमाडौं, असार २९

सरकारले स्वास्थ्य सेवा सम्वन्धि मापदण्ड लागु गरेर सार्वजनिक यातायात सुचारु गर्न भनेपनि सिन्डिकेटधारी व्यवसायीले नमानेको बेला मयूर यातायातले भने राजधानीमा सेवा शुरु गरेको छ ।

विगतमा सरकारले सवारी संचालन गर्न नदिएको गुनासो गर्ने व्यवसायीहरुले अनुमति दिएपछि भने सञ्चालन गर्न नसक्ने बताउदै आएका छन् । उनिहरुले लकडाउनको बेलाको बैंक ब्याज मिनाहको लागि दवाव दिन यातायात संचालन नगरेको बुझिएको छ । तर, मयूर यातायातले सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो । अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो । कम्पनीले काठमाडौं–धुलिखेल–पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ । साझा यातायातले पनि साउन १ गतेबाट बस सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ ।