जनता टाइम्स

२९ असार २०७७, सोमबार १५:०१

१४ वर्ष अघि राजधानीको चर्चित हत्याकाण्डका अभियुक्त फिल्मी शैलीमा पक्राउ


काठमाडौं, असार २९

केही हत्याकाण्ड यति जटिल हुन्छन् कि प्रहरीलाई पनि हत्यारा पत्ता लगाउन बर्षौं लाग्छ । तर, ढिलो नै सहि अपराधी कहिले पनि कानुनको नजरमा लुक्न सक्दैन । यही भनाई अहिले एउटा हत्याकाण्डमा लागु भएको छ ।

प्रहरीले राजधानीमा १४ वर्षअघि एक दम्पतीको हत्यामा संलग्न भएको आरोप लागेका अभियुक्त पक्राउ परेका छन् । लामो समयदेखि भारतमा रहँदै आएका जय किशोर साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गर्न सफल भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३४ वर्षीय साहलाई असार २८ गते बाँकेबाट पक्राउ गरेको हो । ०६३ पुस २० गते काठमाडौंको सितापाइलास्थित कान्तिपुर मिलका सञ्चालक ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीय सानु सुवेदीको उनी र प्रताप रानाले हत्या गरेका थिए ।

मिलमा काम गर्दै आएका साह र रानाले धारिलो हतियारले प्रहार गरी दम्पतीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । काम बिगारेको विषयमा मिल संचालक सुवेदीले गाली गरेपछि आक्रोशमा आएका उनिहरुले हत्याको योजना नै बनाएका थिए ।

दुई छोरा पनि रहेका सुवेदी दम्पत्तिको परिवारकै हत्या गर्ने योजना अनुसार उनिहरु आएका थिए । शुरुमा दम्पत्तिको हत्या गरेका उनिहरुले त्यसपछि जेठो छोरालाई खुकुरी प्रहार गरेका थिए । घटनाको समयमा सुवेदीका दुई छोरामध्ये जेठा छोरा १५ वर्षका थिए भने कान्छा छोरा १२ वर्षका थिए । जेठा छोरा विलभ सुवेदीमाथि खुकुरी प्रहार गरेर मर्यो भनेर छाडेका थिए । तर, उनी लामो समयको उपचारपछि निको भए । कान्छा छोरा भने कोठामा ढोका थुनेर बसेकाले बाच्न सफल भए ।

हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको प्रहरीले जनाएको छ । दुई वर्ष त्यहाँ सँगै बसेपछि राना अन्यत्रै लागेका थिए । साहले भारतमा पुगेर जय शर्मा नामबाट भारतीय आधार कार्ड समेत लिएर बस्दै आएका थिए ।

सीआईबी प्रमुख सहकुलबहादुर थापाका अनुसार उनी भारतमा ‘डान्स टिचर’ भएर बसेको खुलेको छ । उनले रेष्टुरेन्ट समेत सञ्चालन गर्दै आएका थिए । साहसँग भारतीय रासनकार्ड समेत छ ।