काठमाडौं, साउन ३ । आफूलाई नेपाली सेनाका मेजर बताउने सुरेश विष्टलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति मादक पदार्थ सेवन गरेर प्रहरीलाई नै धम्क्याउनुका साथै हातपात नै गरेपछि महानगरीय प्रहरी वृत्त चापागाउँले उनलाई पक्राउ गरेको हो । सैनिक पोशाकमै रहेका विष्टले प्रहरीलाई अभद्र व्यवहार समेत गरेका थिए ।
घटना बिवरणअनुसार शुक्रवार राती बिष्टले मापसेको सुरमा बितण्डा मच्चाएपछि घटनास्थलमा प्रहरी पुग्यो । घटनास्थल पुग्दा सैनिक पोशाक, त्यसमा पनि नेपाली सेनाको मेजरको फुली लगाएको देखेपछि प्रहरीले सलाम ठोके । त्यसपछि नम्रतापूर्वक ‘कहाँसम्म सर ?’ भन्दै सोधे । घटनास्थल पुगेका प्रहरीले सोध्न के भ्याएका थिए, मेजरको फूलीसहित सैनिक पोशाकमा रहेका विष्टले प्रहरीलाई नै धकेलि दिए । प्रहरीले उनी मापसेको सुरमा बेहोसी हालत रहेको प्रहरीलाई बुझ्न कठिन भएन ।
प्रहरीमाथि नै आक्रमण गरेपछि उनलाई नियन्त्रणमा लिने प्रयास भयो । तर, नियन्त्रणमा लिन प्रहरीलाई निकै कठिन भयो । उनले डिउटीमा खटिएका प्रहरीलाई लछार–पछार पारे । प्रहरीले ‘सर, यसो नगर्नुस’ भन्दै समाते । बृत्तमा ल्याएपछि पनि विष्टले अभद्र व्यवहार देखाइरहे । त्यसपछि प्रहरीले उनलाई हत्कडी लगाएर काबूमा पारी सैनिक प्रहरीलाई खबर गरे । केहीबेरमा सैनिक प्रहरी चापागाउँ प्रहरी वृत्त आइपुगे । तर, सैनिक प्रहरीले विष्टलाई बुझ्न मानेनन । सैनिक प्रहरीले विष्ट सेनाको मेजर नभएको जानकारी दिए । उनीहरुले भने, ‘सुरेश विष्ट नाम गरेका मेजर साप नेपाली सेनामा नरहेको पाइयो ।’
सैनिक प्रहरीले आफ्नो मान्छे होइन भनेपछि प्रहरीले उनलाई बृत्तकै हिरासतमा राखे । आज बिहान आफूलाई सञ्चो नभएको भनेपछि पाटन अस्पतालमा लगिएको छ । पक्राउ परेका विष्टले यसअघि पनि चापागाउँका प्रहरीलाई आफू सेनाको मेजर भएको भन्दै धम्क्याउने गरेको पाइएको छ । अहिले आएर भने विष्ट नक्कली मेजर भएको पत्ता लागेको छ ।
गोदावरी नगरपालिका २ विशंखु बस्ने ४५ वर्षीय विष्ट २०६२ जेठ ११ गते सेनामा भर्ती भएका थिए । तर, उनी २०६३ वैशाख १० गते बर्खास्त भएको सेनाले जनाएको छ । यसरी उनले त्यसयता नक्कली मेजर बनेर हर्कत गर्दै आएको पनि खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्