जनता टाइम्स

४ श्रावण २०७७, आईतवार १३:०९

नेकपा स्थायी कमिटी बैठक स्थगित : सचिवालयमा परिपक्व निर्णय गर्ने तयारी


काठमाडौं, साउन ४

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद सचिवालय बैठकबाट टुंगो लगाउने तयारी गरिएको छ । विभिन्न विकल्पमा छलफल भईरहेको र सबैलाई मान्ने निर्णयलाई परिपक्वता दिनका लागि आजको लागि बोलाइएको स्थायी कमिटी बैठकपनि स्थगित गरिएको छ ।

अपरान्ह तीन बजे बोलाइएको बैठक दुई अध्यक्षबीच छलफल भएर साउन ६ गतेसम्मका लागि स्थगित गरिएको हो । आज बस्ने भनिएको बैठक अब साउन ६ गते ११ बजेसम्मका लागि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर जानकारी दिनु भएको छ ।

शनिवारको सचिवालय बैठकमा दुई अध्यक्षले अर्लि महाधिवेशन गर्ने प्रस्तावमा अन्य केही नेताले विरोध गरेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले महाधिवेशनमा जान नसकिने बताएपछि उनिहरुलाई मनाउने प्रयास भईरहेको बुझिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान तीनै जना नेतासँग छलफल गर्नुभएको छ । उहाले महाधिवेशनका विषयमा आफ्नो धारणा राख्नु भएको र कसरी गर्ने भन्ने बारेमा छलफल जारी रहेको बताउनु भएको स्रोतले जानकारी दिएको छ । गुटको भेलामा उपाध्यक्ष बामदेव गौतम र रामबहादुर थापा बादललाई बोलाएपनि दुवै जना अनुपस्थित हुनु भएको थियो ।

बादलले सचिवालय बैठकमा प्रधानमन्त्रीको भनाईको स्पष्ट रुपमा समर्थन गरिसक्नु भएको छ । गुटको भेला अघि खुमलटारमा विहान गौतम र महासचिव विष्ण पौडेलले छुट्टा छुट्टै प्रचण्डसँग छलफल गर्नुभएको थियो ।