जनता टाइम्स

४ श्रावण २०७७, आईतवार १४:१८

व्यवसायीको माग समेटेको भन्दै भोलिबाट सबै सार्वजनिक यातायात चल्ने


काठमाडौं, साउन ४

मौद्रिक नीतिले व्यवसायीको माग समेटेको भन्दै भोलीबाट सार्वजनिक सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन्। सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलिबाट यातायात सञ्चालन गर्न तयार भएका हुन्। अहिले जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइने भएपनि उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन्।

हाल साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालन भयरहेका छन् । यता व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन्। आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलिबाटै सबै यातायात सञ्चालन गर्ने बताएका छन्। विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबारबाट यातायात सञ्चालन हुने बताउनुभयो ।

सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएका हुन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि हमालले आग्रह गर्नुभएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।