काठमाडौं, साउन ५
नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताउनुभयो । हाल प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ । यो अझै बढेर २ सय मिलिलिटर पुग्ने सम्भावना छ ।
न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । अब ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जानेछ । विभागका महानिर्देशक वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०. २ मिलिमिटर पानी परेको छ । यो अझै बढेर धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्ने उहाँले सुनाउनुभयो ।
खतराको तह नाघ्यो नारायणी
चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको छ । जलसतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटरमाथि पुगिसकेको छ । वर्षात नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ । नारायणघाटको पुलमा जलसतहले सतर्कताको तह पार गरेको हो । तल्लोटतीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
त्यस्तै पूर्वनपलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । यता कोशी नदीमा सतर्कताको तह पार गरेकाले भोलिसम्म खतराको तह पार गर्न सक्ने अनुमान गरिएको छ । यस्तै विभागले कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तह पार गर्न सक्ने अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्