जनता टाइम्स

५ श्रावण २०७७, सोमबार १८:५३

पूर्वमाओवादीका अधिकांश नेता अध्यक्ष ओलीसँगै सहकार्यको पक्षमा उभिए, तीन नेता मात्रै माधव नेपालतिर


काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटीमा रहेका अधिकांश पूर्वमाओवादी नेताहरु अध्यक्ष तथा प्रधानमन्त्रीको राजीनामाको बिषय फिर्तालिएर सहकार्यको पक्षमा उभिएका छन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज परामर्शका लागि बोलाउनु भएको पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यहरुको परामर्शमा यस्तो तस्विर देखिएको हो ।

भेलामा सहभागी तीन जना नेताहरु भने बरिष्ठ नेता माधवकुमार नेपालसँगको गठबन्धन कायम गरी अध्यक्ष ओलीलाई अप्ठ्यारो पार्नुपर्ने पक्षमा देखिएका छन । एक नेताले दिनुभएको जानकारीअनुसार भेलामा उपस्थितमध्ये टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, चक्रपाणि खनाललगायतका प्रभावशाली नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग समझदारी गरेर स्थायी समिति बैठकमा एजेण्डा नै नरहेको तर अराजकतापूर्ण ढंगबाट घुसाइएको राजीनामाको एजेण्डा फिर्ता गरेर अघि बढ्न अध्यक्ष प्रचण्डलाई सुझाउनु भएको छ ।

नेकपाका प्रवक्तासमेत रहनुभएका नेता नारायणकाजी श्रेष्ठ, मातृका यादव र देव गुरुङले भने अध्यक्ष ओलीलाई हटाउन माधव नेपालसँगको गठबन्धन कायम राख्नुपर्ने बताउनु भएको छ । बैठकमा वर्षमान पुन, शक्ति बस्नेत, लीलामणि पोखरेल र पम्फा भुसालले पनि पार्टी एकता जोगाउन दुई अध्यक्ष मिलेर जानुको बिकल्प नरहेको भन्दै अध्यक्ष प्रचण्डले उचित निर्णय लिनुपर्ने सुझाव दिनुभएको थियो । उहाँहरुले कसैको अपमान नगरी एकता जोगाउन मध्यमार्गी धार खोज्नु पर्ने बताउनु भएको ती नेताले जनताटाइम्स डटकमलाई बताए ।

बरिष्ठ नेता नेपालले आइतवार प्रचण्डलाई ‘तपाईंका मान्छे नै तपाईंसँग छैनन्, आफ्ना मान्छेलाई संगठित गर्नुस भनेपछि अध्यक्ष प्रचण्डले आज नेकपा स्थायी कमिटीमा रहेका पूर्वमाओवादी नेताहरुलाई परामर्शका लागि बोलाउनु भएको थियो । सो भेलामा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य तथा उद्योग मन्त्री लेखराज भट्ट र पूर्वगृहमन्त्रीस्मेत रहनुभएका स्थायी कमिटी सदस्य जनार्दन शर्मा भने सहभागी हुनुभएको थिएन ।