जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार ०७:०८

लिपुलेक जाने बाटो निर्माणको आधा काम सकियो, खुसी हुँदै सैनिक प्रवक्ताले सार्वजनिक गरे यस्तो तस्बिर


काठमाडौं, साउन ६ । नेपाली सेनाले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक जाने वाटो निर्माणको आधा काम सकेको जानकारी दिएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले सोमवार ट्वीटमार्फत लिपुलेक जाने बाटो निर्माणको आधा काम सकिएको जानकारी दिनुभएको हो । लिपुलेक जाने ट्रयाक खोल्न सेनाको एक टुकडी केही समयदेखि सो स्थानमा कार्यरत रहेको छ । प्रवक्ता पौडलले सेनाका जवानले बाटो खन्दै गरेको तस्विर समेत सार्वजनिक गर्दै ट्रयाक निर्माणको अहिलेसम्मको प्रगतिको बारेमा जानकारी गराउनु भएको हो ।

प्रवक्ता पौडेलका अनुसार घाँटीबगरदेखि घागंरुसम्मको ट्रयाक खोल्ने क्रममा २ सय ५० मीटर ट्रयाक खोलिसकिएको छ । प्रवक्ता पौडेलले स्थलगत तस्बिर र नक्सा सार्वजनिक गर्दै सो समाचार सेयर गर्न पाउँदा खुसी लागेको आफ्नो अनुभुति समेत साटनुभएको छ । उहाँका अनुसार सो सडकखण्डको पुरा ट्रयाक ४५० मीटर रहेको छ ।

केही समय अघि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सो क्षेत्रको भ्रमण गर्नुभएको थियो । सेना र सशस्त्र प्रहरी प्रमुखद्वय त्यहाँ कार्यरत सुरक्षाकर्मीको आत्मबल बढाउन सो क्षेत्रको भ्रमणमा जानुभएको हो । भारतबाट अतिक्रमित भूमि समेटिएको नयाँ नक्सासहितको संविधान संशोधन संसदबाट पारित भएपछि नेपालको सिमा क्षेत्रमा सुरक्षा बढाईएको छ । सुरक्षा क्षेत्रका प्रमुखहरुको भ्रमणले पनि छुट्टै सन्देश दिएको थियो ।

नेपाली सेनाले ट्रयाक खोल्नु र दुई सुरक्षा निकायका प्रमुखको भ्रमणलाई भारतीय मिडियाले पनि निकै चासोका साथ हेरेका थिए । जुन परिवेशमा भ्रमण भएको थियो, त्यसले कुटनीतिक तथा सामरिक दुवै तहमा एउटा सन्देश प्रवाह गरेको अनुभुती गरिएको थियो । यो विषयले मिडिया र सामाजिक संजाललाई पनि तरंगित गर्‍यो। भारतीय मिडियामा समेत यो भ्रमणको पर्याप्त चर्चा भयो भने उत्तरतिरबाट पनि यसमा चासो प्रकट भएको थियो।

सेनापति थापा र आइजीपी खनाल दार्चुलाको छाङरु र घाटीबगर क्षेत्रमा पुगेका थिए । यो क्षेत्र भारतले अतिक्रमण गरेर फौज राखेको नेपाली भूमि कालापानीबाट झन्डै १० किलोमिटरको दुरीमा पर्छ। छाङरुमा सशस्त्रले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। छाङरु नजिकै घाँटीबगरमा सेनाको अस्थायी क्याम्प बसेको छ। सेनापति र आइजीपीले यी दुवै बेसको निरीक्षण गर्दै त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ खटिन हौसला प्रदान गर्नुभएको थियो । पछिल्लो पटक सैनिक प्रवक्ताले दिनुभएको आधा काम सकिएको जानकारीले आम नेपाली खुसी बनेका छन ।