जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार ११:०६

पृथ्वी राजमार्गमा मात्रै २ सय वटा पहिरो, नारायणगढ–मुग्लिन सडकको हालत पनि उस्तै


भरतपुर, साउन ६

भारी वर्षासगै पहिरो खस्ने क्रम नरोकिएकाले पृथ्वी राजमार्गमा दुई सयभन्दा बढि स्थानमा पहिरो गएको छ । विगत केही दिनदेखी परिरहेको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा यातायात ठप्प भएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इन्जिनियर कृष्णप्रसाद अधिकारीले अहिले पनि राजमार्गमा दुई सय भन्दा वढी ठूलो साना पहिरो खसी रहेकाले राजमार्ग सफा गर्न समय लाग्ने बताउनुभयो । “वर्षाद सगै पहिरो झर्ने क्रम जारी रहेकाले सडकमा झरेको पहिरो सफा गर्न समस्या भैरहेको छ”, उहाँले भन्नुभयो, “नारायणगढ मुग्लिन सडकमा त मंगलबार राती सम्म यातायात सञ्चालनमा ल्याउन सकिन्छ कि भन्नेगरि काम गरि रहेका छौ पृथ्वी राजमार्ग त आज (मंगलबार) पनि सञ्चालन गर्न सकिदैन ।”

पृथ्वी राजमार्गमा पाँच ठाउँमा ठूलो पहिरो खसेको पनि उहाँले जनाउनुभयो । धादिङ्ग र चितवनको सीमा क्षेत्रमा रहेको पोवा खोलामा त सडक नै पहिरोले वगाएको छ भने पुलमा पनि क्षति पुगेको छ । सो पुल सँगै रहेको एप्रोज सडकको करिव १२ मिटर सडक वाढीले वगाउदा पुलमा क्षति भएको हो । अहिले सो स्थानमा सडक अवरुद्ध भएको इन्जिनियर शिव खनालले बताउनुभयो । सो सडक खुलाउन कम्तिमा पनि दुई दिन लाग्ने बताइएको छ ।

यस्तै पृथ्वी राजमार्गकै धादिङ महादेववेसीमा ४ मिटर चौडाईमा ३० मिटर सडक त्रिशुली नदी तर्फ भासिएको छ । यो ठाउँमा पनि अहिले दुई मिटर मात्रै सडक रहेकाले यातायता सञ्चालन गर्न सकिने अवस्था नभएको डिभिजन प्रमुख अधिकारीले बताउनुभयो । यसका अलवा पृथ्वी राजमार्गको जोगीमारा, फुर्के खोला, विशालटार, जवान खोला, पौवा खोला, चुम्लिगटार लगाएतका क्षेत्रमा ठूलो पहिरो छ । अन्य धेरै ठाउँमा अहिले पनि पहिरो झरी रहेको छ ।

यस्तै नारायणगढ मुग्लिन सडकको १७ किलो भन्ने ठाउँमा पनि सडक भासिएको छ । ९ मिटर चौडाई मध्ये ५ मिटर सडक त्रिशुलीमा भासिएपछि यहाँ चार मिटर मात्रै सडक वाँकी छ । यहाँ एकोहोरो सडक सञ्चालन गर्न सकिने अवस्था भएको वताइन्छ । यस्तै नारायणगढ मुग्लिन सडककै नारायणगढ मुग्लिन सडकको चार किलो र चोर खोलामा अहिले पनि पहिरो खस्नेक्रम जारी छ । दुवै राजमार्गमा पहिरो खस्ने क्रम जारी रहेकाले सो राजमार्गको विकल्प खोज्न सर्वसाधरण यात्रुहरुलाइ आग्रह गरिएको छ ।

वर्षाद जारी रहेकाले पहिरो पन्छाउन नसकिदा आज पनि राजमार्ग खुला गर्न नसकिने भएकाले वैकल्पिक सडक प्रयोगमा ल्याउन चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आग्रह गर्नुभयो ।“पानी लगातार परिरहेकाले पहिरो पन्छाउन गारो भएको छ” उहाँले भन्नुभयो । तराईका जिल्लाहरुवाट काठमाण्डौ जानुपर्ने यात्रुहरुले बैकल्पिक रुपमा हेटौडावाट जाने विभिन्न सडकहरु प्रयोग गर्न सकिने वताइन्छ ।