जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार १४:०२

नेकपा स्थायी कमिटी बैठक केहीबेर बसेर साउन १३ गतेसम्म स्थगित, यस्तो भयो एक मात्र निर्णय


काठमाडौं, साउन ६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर मात्रै बसेको बैठक अन्य विषयमा प्रवेश नगरी बाढी पीडित नागरिकलाई राहत प्रदान गर्न सरकारलाई निर्देशन दिने निर्णय गर्दै सकिएको हो ।

बैठकमा पार्टीका नेता कार्यकर्तालाई पनि राहत र उद्धारमा जुट्न अपिल गरिएको छ । अर्को बैठक साउन १३ गते विहान ११ बजे मात्रै बस्ने नेताहरुले जानकारी दिएका छन् । नेकपाको पाँचौ स्थायी कमिटीको बैठकमा विना एजेण्डा जवरजस्ती प्रधानमन्त्रीको राजिनामा घुसाइएपछि विवाद रहदै आएको छ ।

प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विकल्प दिएपनि अर्को पक्ष राजि भएको छैन । पछिल्लो पटक प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्व चाहिएको भए महाधिवेशन चाडो गर्नुपर्छ भन्ने प्रस्ताव गर्नुभएको छ । सो विषयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दैनिक छलफल भएपनि अन्तिम टुंगोमा पुगेको छैन ।

अर्का वरिष्ठ नेता माधवकुमार नेपालले भने अर्लि महाधिवेशनमा जानुभन्दा केन्द्रीय कमिटीबाट नेतृत्व परिवर्तन गर्नुपर्ने अडान लिदै आउनु भएको छ । नेकपाका कतिपय नेताहरुले पनि महाधिवेशनका विषयमा विभिन्न मतहरु राखिरहनु भएको छ । सबैको विचारलाई कसरी समेट्ने भनेर दुई अध्यक्ष निरन्तर छलफलमा जुट्नु भएको एक नेताले जानकारी दिनुभयो ।

आज पनि स्थायी कमिटीको बैठक अगाडी दुई अध्यक्षबीच छलफल भएको थियो । छलफलमा एक साता स्थायी कमिटी बैठक स्थगित गरेर छलफललाई टुंगोमा लैजाने सहमति दुई अध्यक्षबीच भएको नेताहरुले जानकारी दिनुभएको छ ।

स्थायी कमिटीको चौथो बैठकबाट पारित प्रस्ताव

(६ साउन २०७७)
गत २०७७ साल जेठ ३० गते मनसुन सुरु भए यता भएको लगातारको बर्षाका कारण देशमा विभिन्न भूभाग बाढी, पहिरो र डुबानबाट आक्रान्त भएका छन् । बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण साउन ६ गतेसम्म २३३ जनाको ज्यान गएको छ, ९८ जना बेपत्ता भएका छन् भने ९९ जना घाइते भएका छन् । २८२ भन्दा बढी घरहरू पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । सयौँ परिवार घरबारबिहिन र बिस्थापित भएका छन् । तराईका विभिन्न भूभागहरू डुबानमा परेका छन् । राजमार्ग र अन्य सडक तथा पुलहरु क्षतिग्रस्त हुँदा आवागमन अवरुद्ध भएको छ ।

स्थायी कमिटीको यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ, शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । प्राकृतिक विपत्तिको यस अवस्थालाई ध्यानमा राख्दै उद्दार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेहरूको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाहरूको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गंभीर ध्यानाकर्षण गर्दछ । क्षतिग्रस्त सडक तथा पुलहरु तत्काल मरम्मत गरी आवागमन चालु गर्न आग्रह गर्दछ ।

सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवा विद्यार्थीहरूमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्दार, राहत र पुनस्र्थापनाका काममा परिचालित हुन आह्वान गर्दछ ।