जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार १५:५३

मुस्ताङका सांसद विष्टको पहलमा पोखरामा राहत वितरण


पोखरा, साउन ६

गण्डकी प्रदेशका सांसद इन्द्र धारा विष्टको पहलमा पोखराको विभिन्न स्थानमा राहत वितरण गरिएको छ । हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलको सहयोगमा पोखराका विभिन्न आश्रम तथा प्राकृतिक प्रकोपवाट प्रभावित परिवारलाई राहत हस्तान्तरण गरिएको हो । गुम्बाका सल्लाहकार तथा गण्डकी प्रदेशका सदस्य माननीय इन्द्र बिष्ट, गुम्वाका प्रध्यानाध्यापक ग्याचो लामा र युवा उत्प्रेरक तथा पत्रकार सुष्मा पौडेलको टोली विभिन्न आश्रम तथा सम्बन्धित स्थानका पुगेर राहत हस्तान्तरण गर्नुभएको हो ।

पोखरा–१५ का पहिरो प्रभावित तथा लक्षित वर्ग गरि ६० परिवारलाई वडा अध्यक्ष प्रकाश पौडेल सहितको जनप्रतिनिधि टोलीले राहत वितरण गरेको हो । पोखरा–२७ लेखनाथको कृष्ण प्रणामी वृद्धा तथा बालआश्रम, अपाङ्गता मैत्री समाज आश्रम, पोखरा वृद्व आश्रम, मानव सेवा आश्रममा चामल, तेल, नुन, दाललगायतको खाद्यान्न सहयोग गरिएको हो ।

 

गुम्बाका सल्लाहकार समेत रहनुभएका विष्टले मानवीय धर्म निर्वाह गर्नका लागि सानो भएपनि पोखराका विभिन्न स्थानमा मुस्ताङको साथ हस्तान्तरण गरिएको बताउनुभयो । गुम्बाका लामाले हालसम्म दुई सय थान प्याकेज राहत हस्तान्तरण गरिएको बताउँदै पाच सय जनालाई राहत हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

लोमन्थाङ गाउपालिका–३ मा स्थायीरुपमा सञ्चालनमा रही हिउँदको समयमा पोखरा–१८ खपौदीमा सञ्चालन हुँदै आएको गुम्बा स्कुलले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस जोखिम न्युनिकरणका लागी प्रदेश सरकार र पोखरा महानगरले स्थापना गरेको कोरोना विपद कोषमा समेत नगद हस्तान्तरण गरेको छ । त्यसतै विभिन्न स्थानमा प्राकृतिक विपद् पहिरोमा परी घर–परिवार गुमाएकाहरुलाई तथा बिहान बेलुका छाकटार्न धौ–धौ भएकालाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ।