जनता टाइम्स

७ श्रावण २०७७, बुधबार १६:४०

पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई मन्त्री अर्यालद्वारा राहत वितरण


स्याङ्जा, असार ७

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण गर्नुभएको छ । श्रद्धाञ्जलीसभा कार्यक्रममा गत असार ३० गतेको पहिरोमा परी मृत्यु भएका मृतकका परिवार र विस्थापित परिवारलाई राहत वितरण गरिएको हो ।

पहिरोमा पुरिएर मृत्यु भएका कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे निवासी इमानसिंह राना, गिमानसिंह थापा, टिकाबहादुर थापा, प्रेमचन्द्र पाण्डेलाई नगद सहित खाद्यान्न, कम्बल, त्रिपाल लगायतका सामग्रीहरु वितरण गरिएको हो । त्यस अवसरमा पहिरोमा परी घाइते भएका घाइतेहरु होमनाथ पाण्डे, बिरबहादुर रानालाई पनि राहत वितरण गरिएको थियो ।

त्यस अवसरमा मन्त्री अर्यालले सचिवालयका स्वकीय सचिव बुद्ध घर्तीमार्फत मृतकप्रति श्रध्दाञ्जलि, मृतकका परिवारमा समवेदना तथा घाइतेहरुको स्वास्थलाभको कामना सन्देश पठाउनुभएको थियो । मन्त्री अर्यालद्वारा जारी सन्देशमा वर्षाका कारण आफु उपस्थित हुन नसकेपनि आफ्नो तर्फबाट रहने साथ, सहयोग सधैं रहने बताउनुभएको थियो ।

त्यस अवसरमा संघीय सरकारका तर्फबाट १ लाख र प्रदेश सरकारबाट ५० हजार र स्थानीय सरकारका तर्फबाट ३० हजार रुपैयाँ सहयोग मृतकका परिवारलाई नगद सहयोग गरिएको थियो । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानद्वारा राहत हस्तान्तरण गरिएको थियो ।