जनता टाइम्स

९ श्रावण २०७७, शुक्रबार ११:०९

महाअभियोग लगाउन पनि तयार हुनुपर्छ कि – नेकपा सांसद भट्टराई


काठमाडौं, साउन ९

पत्नी हत्याका दोषी रञ्जन कोइरालालाई कैद सजाय माफी गर्ने न्यायाधीशमाथी महाअभियोग लगाउनुपर्ने विषय जोडतोडका साथ उठ्न थालेको छ । सांसदहरुले नै महाअभियोग लगाउन तयार हुने हो की भनेर प्रतिक्रिया दिन थाल्नु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालालाई साढे ११ वर्ष कैद सजाय मिनाह गरेपछि यो विषय उठेको हो । नेकपाका सांसद विशाल भट्टराईले अदालतप्रति पुरापुर सम्मान भएपनि फैसलाप्रति घोर आपत्ति रहेको बताउनु भयो । उहाले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘पत्निको बिभत्स हत्या गरेर काराबास ब्यतित गरिरहेका ब्यक्तिलाइ बच्चाको रेखदेखको कुतर्क र झिनो त्यान्द्रो समातेर छुटकारा दिने फैसला आपत्तिजनक छ ।’

उहाले अगाडी लेख्नु भएको छ, ‘मुलुकको प्रधानन्यायाधिसकै इजलासबाट यस्तो फैसला आउनु न्यायालयको बिस्वास र गरिमा ध्वस्त हुनु हो भने न्यायप्रणाली र कानूनको खिल्ली उडाउनु हो । यसमा पुनरवलोकन भएन भने महाअभियोग लगाउन पनि तयार हुनुपर्छ कि !’

नेकपाका केन्द्रीय कमिटी सदस्य एवं राष्ट्रिय सभामा सत्तापक्षको मुख्य सचेतक खिमलाल भट्टराईले पनि प्रधानन्यायाधीशबाटै न्यायको हत्या भएको प्रतिक्रिया दिनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै मुख्य सचेतक भट्टराईले न्यायको हत्या भएको जनाउनु भयो ।