जनता टाइम्स

१० श्रावण २०७७, शनिबार १६:२८

प्रचण्ड–माधव र झलनाथसँग महेश बस्नेतले सोधे तीन करोड नेपालीको मनमा रहेका प्रश्न


काठमाडौं, साउन १० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य पूर्वमन्त्री महेश बस्नेतले अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसहितका नेताहरुले नै पार्टीभित्र समस्या खडा गरेको भन्दै कठोर प्रश्न गर्नुभएको छ । बस्नेतले ‘महानायक बन्ने की नालायक ?’ भन्दै शीर्ष नेतालाई गम्भीर प्रश्न सोध्नुभएको हो ।

सिङ्गो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर लैजाने भूमिका खेल्नुपर्नेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गुटबन्दी गरेर प्रचण्ड, नेपाल र खनालले गम्भीर गल्ती गरिरहेको उहाँको निश्कर्ष छ । ‘पार्टीलाई संकटमा छ भन्दै पार्टी एकताविरुद्ध अभिव्यक्ति दिँदै एकले अर्कालाई हिलो छ्याप्दै जानुले त उहाँहरु महानायक हैन, नालायक बन्दै जाने हो,’ बस्नेतले भन्नुभयो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले दर्ता गराएको भन्ने अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोप आधारहीन रहेको उहाँको भनाई छ । ‘एकलाई अर्काले हिलो छ्याप्ने काम मात्र भएको छ । निर्वाचन आयोगमा एमाले पनि दर्ता भएको र माओवादी केन्द्र पनि दर्ता भएको छ । दुवै पार्टी दर्ता भएका छन् । एउटालाई मात्र दोष दिएर हुन्छ ?’ बस्नेतले प्रश्न गर्नुभयो ।

नेकपा कमजोर भएमा कांग्रेस तथा मधेसवादी दलले बढी मात्रामा लाभ प्राप्त गर्ने भएकाले नयाँ दल दर्ता गर्ने जनताको नैसर्गिक अधिकार भएको बताउँदै जिम्मेवार नेताले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिनु नुहेनतर्फ सचेत समेत गराउनुभयो । कुनै पनि कुरालाई विवेक पुर्याएर बोल्नुपर्ने नेताले नै गैर जिम्मेवारीपूर्वक अभिव्यक्तिहरु दिइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले पदलोलुपता, कण्ठाग्रस्त मानसिकता, अवसरवादी चरित्रका कारण प्रकट भई अरुलाई हिलो छ्याप्ने र आफुलाई पानीमाथिको ओभानो बन्ने प्रयत्न भएको बताउनु भयो ।

‘विधि र प्रकृयाको सवैभन्दा वढी वकालत गर्ने माधव नेपाल दुई अध्यक्षले महाधिवेशनको प्रस्ताव लैजादाँ सवैभन्दा पहिलो त्यसको विपक्षमा उभिनुभयो । विधि र प्रकृया भनेको त महाधिवेशनबाट नै चुन्ने प्रकृया होला नि ?’ नेपाली रेडियो नेटवर्कमा अन्तरवार्ता दिँदै प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता बस्नेतले भन्नुभयो, ‘आम निर्वाचनको माध्यमबाट जनप्रतिनिधि चुन्ने र त्यसैगरी पार्टीभित्र महाधिवेशन नै आम कार्यकर्ताले आफ्नो सार्वभौम सत्ताको उपयोग गरी शसक्त माध्यम हो । त्यसैले माघ, फागुनमा हैन, मंसिरमा नै महाधिवेश गरी एकल नेतृत्वको माध्यमबाट दुई अध्यक्षहरु लगभग सहमत भएको तर उक्त कुरालाई सवैभन्दा बढी आपत्ती जनाउने र उफ्रिने कुरा त माधव नेपालले नै गर्नुभयो ।’

केही दिन अघि अध्यक्षद्वयको वालुवाटारमा भएको छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न गएको कुरामा समेत अध्यक्ष प्रचण्डले आफुलाई वाध्यतावस राष्ट्रपति कार्यालय सितलनिवास पुर्याइएको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिनुभएको भन्दै बस्नेतले प्रचण्ड जस्ता वोल्ड निर्णय गर्ने नेतालाई त्यस्तो फ्याङ्लो बनाउने कुरामा वरिष्ठ नेता माधव लगायतका नेताहरुले घृणित खेल खेलेको, गुटको राजनीतिलाई बढावा दिएको दावी गर्नुभयो । उहाँले सरकारलाई कामै गर्न नदिएर पार्टीकै समस्यामा राखिराख्ने नियोजित षडयन्त्रअनुसार पछिल्लो गतिबिधि भइरहेको ठोकुवा पनि गर्नुभयो ।

‘सरकारलाई काम गर्न नसक्ने अवस्था सिर्जना गरी घेरावन्दीमा राख्ने कार्य पार्टीभित्रबाट हुँदा पनि सरकारले उत्कृष्ट नै काम गरिरहेको छ,’ बस्नेतको भनाई छ । उहाँले दुई अध्यक्षले गरेको निर्णयलाई व्यक्तिगत भनी कसैले व्यख्या गर्न नमिल्ने पनि प्रष्ट पार्नुभयो । ‘दोष जति सवै केपी ओलीको टाउकोमा लगाएर हामी चाँहि पानी माथिको ओभानो बन्छौं भन्ने नेकपाका नेतृत्वले नसोचे हुन्छ । सरकारले राष्ट्रियता, कोरोना, प्राकृतिक विपत्ती, सीमा रक्षालगायतका खेलेको भूमिकालाई जनताले वाहा ! वाहा ! नै गरिरहेकोेले माधव र प्रचण्डले लगाएको आरोप कपोकल्पित हो,’ बस्नेतले भन्नुभयो ।

उहाँले बिधि र प्रक्रिया भन्दा बाहिर गएर पद प्राप्ती गर्ने बिगतको सपना अव पूरा नहुने ठोकुवा पनि गर्नुभयो । ‘मनभित्र अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपतिलगायतका पदहरुको सपना देख्न सकिन्छ, कुनै एउटा होटलमा बसी बाँडफाँड पनि गर्न सकिन्छ, तर त्यो बिगतमा भयो, अव हुन्न,’ बस्नेतले भन्नुभयो । नेता बस्नेतले नक्सा प्रकरणमा पनि तीनै नेतामाथि कडा प्रश्न गर्नुभयो ।‘कालापानीको समस्या ५८ वर्ष अघिदेखिको हो, माधव नेपाल, प्रचण्ड र झलनाथ खनाल प्रधानमन्त्री हुँदा के हेरेर बस्नुभयो ? आफू केही गर्न नसक्ने अनि अर्कोले गर्यो भने पनि समर्थन गर्न नसक्ने ? विगतका प्रधानमन्त्रीको इतिहास साँक्षी छ । कसैले मै हुँ भनेर ठूलो कुरा नगरे हुन्छ । यसमा आम जनताले बुझेका छन,’ बस्नेतले भन्नुभयो ।

उहाँले दुई अध्यक्षले मनोनीत गरेर पदमा पुगेकाहरुले अहिले नेतृत्व नै फेर्ने सपना नदेख्न पनि चेतावनी दिनुभयो । ‘भागबण्डामा मनोनीत कमिटी बनाउने अनि अल्पमत र बहुमतको कुरा गर्ने ? महाधिवेशनमा जान पनि आँट नगर्ने, अनि विधिको कुरा गर्ने ? पार्टी एकतामा भएको समझदारीमा गरेको हस्ताक्षर सुक्न नपाउँदै अल्पमत तथा बहुमतको कुरा गर्ने ? ओलीले भागबण्डामा दिएको पदलाई सिरानी हालेर विधिको कुरा गर्ने ?,’ बस्नेतले भन्नुभयो ।

प्रधानमन्त्री ओलीलाई दोष देखाएर आफु उम्किने खोज्ने नेताहरुले उक्त आरोप लगाएको स्पष्ट पार्दै उहाँले नेकपा एमाले दर्ता गर्ने व्यक्तिहरुले आफु तथा अन्य केही नेताहरुसँग बसेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको देखेकाले आरोप लगाएको तर त्यो आरोप सत्य नभएको स्पष्ट पार्नुभयो । नेकपाभित्र विभाजन र समस्याका रेखाहरु कोरिने हुँदा नेकपा एमालेको डोमेन रक्षा भएको उक्त पार्टी दर्ता गर्ने व्यक्तिहरुले सार्वजनिक रुपमा बताएको समेत उहाँले जानकारी दिनुभयो ।