जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार १३:२७

कमलादीको १५ किलो सुनकाण्ड : आधा केजी सक्कली मिसाएर ठगी गर्ने थियो तयारी !


काठमाडौं, साउन १३

अबैध रुपमा भित्र्याएको भन्दै प्रहरीले बरामद गरेको १५ केजी सुनमध्ये साढे १४ किलो नक्कली रहेको पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीबाट आज विहान १५ केजी सुन जस्तो देखिने पहेलो बस्तु बरामद गरेको जनाएको थियो । जफत भएका मध्ये एक टुक्रा सुनमात्र सक्कली र बाँकी सबै नक्कली रहेको पुष्टि भएको छ ।

सुराकीका आधारमा प्रहरीले पिछा गरेको थाहा पाएपछि मंगलबार बिहान कमलादीमा गाडीमा आएका व्यक्तिले बाटोमा झोला फ्याँकेका थिए । सो झोलामा भेटिएको १५ किलो पहेँलो धातु परीक्षण गर्दा ५ सय ग्राम सुन भेटिएको प्रहरीले जानकारी दिएको छ ।

गाडीमा आएका व्यक्तिले १५ किलो पहेँलो धातुसहित २ वटा पेस्तोल रहेको झोला बाटोमा फ्याँकेका थिए । त्यसपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाल उक्त धातु परीक्षणका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ पुगेका थिए । अन्य धातुमा सक्कली सुन मिसाएर कसैलाई ठग्ने योजना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।