जनता टाइम्स

१४ श्रावण २०७७, बुधबार १२:३१

कालिकोट पहिरोमा पुरिएर ८ जनाको मृत्यु


कालीकोट, साउन १४

कालीकोटमा मङ्गलबार राति बाढी र पहिरोका तीन वटा घटनामा परेर आठ जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका वडा नं ७ मा पहिरोले घर पुरेपछि एकै घरका छ जना बेपत्ता भएका थिए ।

स्थानीय गङ्गे बुढाको घर पुरिँदा उहाँलगायत छ जना घरभित्रै पुरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकृत यक्षराज जोशीले दिनुभएको जानकारी अनुसार गङ्गे बुढाका ११ जना घर परिवारमध्ये छ जना पुरिएका छन् ।

पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।

६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमती मनाको मृत्यु भएको छ । बाले बेपत्ता रहेको र खोजी कार्य भइरहेको बताइएको छ ।