जनता टाइम्स

१४ श्रावण २०७७, बुधबार १८:४३

मणि थापाको घोषणा : बामदेव गौतमको एकता प्रस्तावमा स्थायी कमिटीका हामी ११ जनाकै समर्थन छ


काठमाडौं, साउन १४ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले मंगलवारबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको ठोकुवा गर्नुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेता थापाले यस्तो ठोकुवा गर्नुभएको हो ।

‘हिजो (मंगलवार) बाट हाम्रो पार्टी एकताको स्पिरिटमा आईपुगेको छ, अब यही कोर्समा पार्टी अघि बढछ,’ पार्टी एकता बचाउन गुटबन्दी गर्ने समुहबिरुद्ध दृढतापुर्वक उभिनुभएका स्थायी कमिटी सदस्य थापाले भन्नुभयो । उहाँले आफू कुनैपनि गुटमा नभएको तर एकताबिरोधी गुटबन्दीको बिपक्षमा रहेको प्रष्ट पार्नुभयो । ‘म एकताको पक्षमा छु, म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु,’ थापाले भन्नुभयो । उहाँले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक संघर्षले पार्टी टुट÷फूट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भएपनि पार्टी फुटको चरणमा नभएको प्रष्ट पार्नुभयो । ‘हाम्रो पार्टी फुटको चरणमा छैन । तर, शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । यो शक्ति संघर्ष कुनै वैचारिक होईन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ,’ थापाको भनाई छ ।

पार्टी एकता बचाउनकै लागि आफू मंगलवारको बैठकमा अनुपस्थित भएको थापाको भनाई छ । ‘दुई अध्यक्षको सहमतिको आधारमा नै बैठक स्थगित भएको भन्ने कुरा आएको थियो, त्यही भएर म गईन । तर, हिजो बालुवाटारमा बसेको स्थायी कमिटीको मिटिङको बारेमा मेरो विरोध छैन,’ थापाले भन्नुभयो । हिजोको बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यहरूले यसअघि नै त्यही आसयको प्रस्ताव ल्याईसकेको पनि उहाँले जानकारी दिनुभयो ।

‘वामदेव कमरेडको ६ बुँदे प्रस्ताव एकताकै जगमा उभिएको छ, त्यही सही छ,’ थापाले भन्नुभयो । वामदेव गौतमको ६ बुँदे प्रस्ताव र हिजोको बैठकमा सचिवालय सदस्य रामबहादुर थापा अनुपस्थित भएसँगै नेकपाको शक्ति सन्तुलनमा पनि फेरबदल आएको थापाले ठोकुवा गर्नुभयो । ‘यसअघि वामदेव कमरेड अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहबाट प्रस्तुत हुनुभएको थियो । तर, हिजो उहाँले ६ बुँदे प्रस्ताव ल्याएसँगै नेकपाको शक्ति समिकरणमा चेन्ज ल्याएको छ । सचिवालयको समिकरणमा पनि चेन्ज आएको छ,’ थापाले भन्नुभयो । उहाँले हिजोबाट नेकपा सहमति, सहकार्य र एकताको पक्षमा आएको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो ।

‘नेकपाको शक्ति सन्तुलन अब एकताको पक्षमा आएको छ,’ उहाँले भन्नुभयो । एकताको मर्म पनि पाँच वर्ष नै केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र महाधिवेशनसम्म दुवै अध्यक्ष रहने भन्ने रहेकोले अहिले पार्टी सोही दिशामा आईपुगेको थापाले बताउनु भयो । ‘मेरो पनि यही धारणा हो । पाँच वर्ष नै केपी ओली प्रधानमन्त्री र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका रहने, चैत्रमा एकता महाधिवेशन्न सम्पन्न गर्ने हो । यो भनेको आम धारणा पनि हो,’ थापाले भन्नुभयो । उहाँले बहुमत÷अल्पमतको आधारमा नभई सहमतिको आधारमा निर्णय हुनुपर्ने पनि धारणा राख्नुभयो ।