जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार १४:०६

पत्रकार बानियाँको शव बागमती किनारमा भेटियो


काठमाडौं, साउन २८

तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मकवानपुरको सिस्नेरीस्थित बागमती किनारमा उनको शव फेला परेको पुष्टि गर्नुभएको छ ।

सोमबारअन्तिम पटक उहालाई बल्खुस्थित बागमतिको पुलमा देखिएको थियो । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उहालाई सोधपुछ गरेको थियो । त्यसपछि उहा घर जाने भन्दै बल्खु खोलाको पुलमुनितर्फ लागेको देखिएको प्रहरीले जनाएको छ ।

एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उहाको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बागमति खोलाले बगाएर लगेको हुन सक्ने आशंका गरिएको छ ।

बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ । तनुहँ स्थायी घर भएका बानियाँ पछिल्लो पटक एकदशकदेखि कान्तिपुर दैनिकमा काम गरिरहनु भएको थियो । त्यसअघि उहाले नागरिक दैनिक र कान्तिपुरमा पनि काम गर्नुभएको थियो ।