जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार ११:१०

१५ किलो सुनचाँदी प्रकरण : बाराबाट इल्ताफ यसरी परे पक्राउ


काठमाडौं, साउन २९

१५ किलो सुनचाँदी र दुई थान पेस्तोलकाण्डका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार भएका ‘सुन तस्कर’ इल्ताफलाई प्रहरीले बाराबाट पक्राउ गरेको हो ।

बाराबाट पक्राउ परेका अन्सारीलाई लिन महानगरी अपराध महाशाखाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा बिहीबार बिहान महाशाखाले अन्सारीलाई लिन टोली पठाएको हो । महाशाखाकै सूचनाका आधारमा बारा प्रहरीले उनलाई पक्राउ गरेको हो । अन्सारीसँगै फरार रहेका भारतको गुजरातका सञ्जय पटेल भने अझै पक्राउ परेका छैनन् ।

१३ गते बिहान सुन्धाराबाट प्रहरीको घुमुवा टोलीले पिछा गरेपछि अन्सारी, पटेल, निलेश सखियालगायतको गिरोहले भारत लैजान लागेको सुनचाँदी त्यहीँ छाडेर भागेका थिए । त्यसको भोलिपल्ट मुख्य आरोपी निलेश सखिया, उनका सहयोगी विजय पटेल, कौशल पटेल र देवानसिंह पटेललाई पक्राउ परेका थिए । कौशलबाहेक तीन जना पूर्वी नवलपरासीको दुम्कीबासबाट पक्राउ परेका थिए ।

त्यसपछि प्रहरीले फरार अन्य व्यक्तिको खोजी कार्य जारी राखेको थियो । सोही अभियोगमा प्रहरीका दुई घुमुवा प्रशन्न श्रेष्ठ, बहादुरसिंह कठायत र सुन लुकाउन सघाउने बागबजारका मोबाइल पसल सञ्चालक उमेश श्रेष्ठ पक्राउ परिसकेका छन् ।

साउन १३ गते सुन्धाराबाट फरार हुँदा प्रयोग गरिएको अन्सारीको बा ६ च ५५१९ नम्बरको स्कार्पियो साउन १४ गते ललितपुरको नखिपोट क्षेत्रबाट प्रहरीले बरामद गरेको थियो ।