काठमाडौं, साउन २९ । राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो बनेको छ । बैंकको आधारदर ६ प्रतिशत भन्दा कम भएकाले समग्रमा ब्याजदर पनि एकल विन्दुमा झरेको छ ।
राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले बैंकको आधार दर ६ प्रतिशत भन्दा पनि तल ५ दशमलव ९० प्रतिशत कायम भएको बताउनुभयो । यसमा १ दशमलव २५ प्रतिशत देखि ३ दशमलव २५ प्रतिशत सम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइएको सिइओ श्रेष्ठले बताउनुभयो ।
उहाँले अधिकतम प्रिमियम जोडदा समेत बैंकको ब्याजदर ९ प्रतिशतको हाराहारीमा रहेकाले बैंकको ब्याजदर अन्य बैंकहरुको भन्दा धेरै सस्तो भएको बताउनुभयो । उहाँले ७ दशमलव २५ प्रतिशत ब्याजदरको घरकर्जा उपलब्ध गराइएको जानकारीसमेत दिनुभएको छ । यो कर्जा घर किन्न, घडेरी किनेर घर बनाउन र अन्य बैंकबाट लिएको घरकर्जालाई स्वाप गर्ने सुविधा समेत दिइएको उहाँको भनाई छ ।
कोभिड १९ को असरले कर्जाको माग कम भएर गएको र निक्षेपमा चाप नपर्दा लगानी योग्य रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको श्रैष्ठले बताउनुभयो । उहाँले नेपालका वाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रतिस्पर्धि राष्ट्रिय वाणिज्य बैंक नै रहेको र यसको ब्याजदर पनि अन्य बैंकको तुलनामा न्यून भएको प्रष्ट पार्नुभयो ।
उहाँका अनुसार राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदरमा स्थायित्व समेत रहेको छ। छिटो छिटो ब्याजदर परिवर्तन गर्ने सम्बन्धमा ग्राहकको सुविधालाई ध्यान दिएर ब्याजदर परिवर्तन गर्ने गरिएको उहाँले बताउनुभयो । कर्जाको माग बढेर जाँदा लगानीयोग्य रकमको अभाव हुने र त्यस्तो अवस्थामा निक्षेप बढाउनुपर्ने दवाव हुँदा ब्याजदर स्वतः बढ्न जाने गर्छ । तर राष्ट्रिय वाणिज्य बैंकमा त्यस्तो समस्या नरहेको पनि श्रेष्ठले बताउनुभयो । प्रविधि र जनशक्तिको हिसाबले राम्रो व्यवस्थापन गरिएकाले बैंकको समग्र व्यवसायमा सकारात्मक असर परेको उहाँको भनाई छ ।
अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ । यो अवस्था राष्ट्रिय वाणिज्य बैंकमा पनि छ । पछिल्लो अवस्थामा राष्ट्रिय वाणिज्य बैंकमा कर्जा–पूँजी–निक्षेप अनुपनत ६३ प्रतिशत कायम भएको छ । यसको अर्थ बैंकमा अझै लगानीयोग्य रकम प्रसस्त छ । त्यसैले कर्जाको ब्याजदर तत्काल हेरफेर हुने सम्भावना नभएको पनि सिइओ श्रेष्ठले बताउनुभयो ।
हाल सो बैंकले सामान्य बचतमा ३ दशमलव ५ प्रतिशत, विशेष बचत, सुनौलो बचत लगायतका बचत खातामा रकम जम्मा गर्दा ५ प्रतिशत ब्याजदर दिएको छ । त्यस्तै अमेरिकी डलर बजचतमा १.५ प्रतिशत, युरो र अन्य मुद्रामा शुन्य दशमलव ७५ प्रतिशत ब्याजदर रहेको छ । मुद्धती निक्षेप अन्तर्गत व्यक्तिगतमा ७ प्रतिशत देखि ७ दशमलव २५ प्रतिशत र संस्थागतमा ६ दशमलव ५ प्रतिशत देखि ६ दशमलव ६ प्रतिशतसम्म ब्याजदर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्