जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार २०:४२

अब कोही पनि निराश बन्नु पर्दैन : मुख्यमन्त्री राई


झापा,साउन २९ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको सरकारले जनताकै घरघरमा पुगेर सेवा प्रवाह गरिरहेको बताउनुभएको छ ।

झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक परियोजनाअन्र्तगत निर्मित सडकको आज उद्घाटन गर्दै उहाँले सानातिना काम स्थानीय, मझौला प्रकृतिका प्रदेश र ठूला आयोजना सङ्घीय सरकारबाट पूरा हुने भएकाले अब कोही पनि निराश बन्नु नपर्ने जिकिर गर्नुभयो । अर्जुनधारा – ६ र ९ स्थित माता मन्दिरदेखि प्रणामी मन्दिरसम्मको मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक शान्ति निर्माण सेवाले रु ८८ लाख ११ हजार १७१ को लागतमा निर्माण गरेको बताइएको छ ।

त्यस्तै मुख्य मन्त्री राईले अर्जुनधारा जलेश्वरधाम जाने बाटामा रहेको कृष्ण–अर्जुन रथको प्रतिमा तथा अर्जुनधारा–१ र २ को बेलटारस्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दुग्ध सङ्कलन केन्द्र (चिलिङ सेन्टर) को समेत उद्घाटन गर्नुभयो ।