जनता टाइम्स

३० श्रावण २०७७, शुक्रबार १०:४८

सहमति जुटाउन नेकपा अध्यक्षद्वय ओली–दाहाल छलफलमा, यस्तो आउन सक्छ निष्कर्ष


काठमाडौं, साउन ३०

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवाद समाधानका लागि प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल छलफलमा जुट्दै हुनुहुन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो दिन आज शुक्रबार पनि निरन्तर छलफल हुदैछ ।

छलफलमा सहमतिको खाका कोर्ने तयारी भएको नेताहरुले बताएका छन् । त्यसका लागि सम्भवत आज कार्यदल गठन हुन सक्ने दाहालको सचिवालय स्रोतले जानकारी दिएको छ । दुई नेताबीच महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु पनि परिवर्तनलगायतका समग्र विषयमा छलफल भईरहेको छ ।

पार्टीको विवाद मिलाउन अध्यक्ष ओलीले आफु हदैसम्म लचिलो भएर प्रस्तुत हुने जनाउ दिइसक्नु भएको छ । उहाले एकतालाई पटक पटक विभिन्न विकल्प दिएपनि अर्को अध्यक्ष दाहाल कुनै पनि सहमतिमा अडिग हुन नसक्दा समस्या आईरहेको छ । तर, यसपटक भने सहमति हुने सम्भावना बलियो रहेको नेताहरुले जानकारी दिनु भएको छ ।

विशेषगरी एकता महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा कार्यदल गठन गरिने बताइएको छ । महाधिवेशन आयोजक समिति बनाउने विषयमा पनि दुई अध्यक्षबीच छलफल भएको छ । विहिवारको बैठकमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्मा सहभागी हुनु भएको थियो ।