जनता टाइम्स

१ भाद्र २०७७, सोमबार ०७:१६

४१ जिल्लामा लकडाउन : नौ जिल्ला रेडजोनमा, उपत्यकामा २० प्रतिशत लक्षण भएका संक्रमित


काठमाडौं, भाद्र १ ।  कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडौ उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी देखिएको छ । उपत्यकामा पनि काठमाडौँमा सङ्क्रमितको सङ्ख्या उच्च देखिएकोे हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार काठमाडौँ उपत्यकामा मात्र १७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा कोरोना पुुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमले यही अवस्थाले उपत्यकामा कोरोना बढ्दै जाने हो भने भोलिका दिनमा अझ जटिल अवस्था आउन सक्नेछ भन्दै सचेत हुन आग्रह समेत गरेका छन् । राजधानी काठमाडौँसँगै देशभर कोरोना सङ्क्रमण दिनहुुँ बढ्दै गएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार २४७ वटा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर परीक्षण भएको यो सङ्ख्या हाल सम्मकै धेरै हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पर्सामा ४७ वर्षीय पुरुष र मोरङकी ५० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो थप आइतवार साझ विरगंज र पाटनमा उपचारको क्रममा थप २ जनाको मृत्यु भएको छ । योसहित हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ ।

४१ जिल्लामा ‘लकडाउन’ नौ जिल्ला रेडजोनमा

लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्न थालेपछि अधिकांश जिल्ला फेरि लकडाउनतर्फ नै फर्किएका छन् । कतै निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका व्यवसायमा रोक लगाएका छन् । त्यसको स्वरूप भने लकडाउनकै जस्तो छ ।

आइतबारसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार २८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन् । अन्य जिल्लामा स्थानीय तहले लकडाउन लागू गरेका छन् ।

पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ । ग्रामीण क्षेत्रमा केही खुकुलो भए पनि ती जिल्लाका सहरी क्षेत्र भने बन्द रहेको मन्त्रालयले जनाएको छ । नुवाकोटमा ६ स्थानीय तहमा निषेधाज्ञा छ भने जिल्लाभरि नै अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ ।

त्यस्तै, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकमु पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन छ ।

‘रेडजोन’मा भए पनि उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन । तर, विभिन्न सेवा बन्द गरिएका छन् । मध्यपुर ठिमी नगरपालिकाले लकडाउन नै लागू गरेको छ । कागेश्वरी मनहराले पनि अत्यावश्यकबाहेकको व्यवसाय बन्द गराएको छ । उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । त्यस्तै रेस्टुरेन्ट, सैलुन र जिमखाना पूर्ण रूपमा बन्द गरिएका छन् । अटेर गर्नेहरूलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

सरकारले लकडाउन हटाएपछि संक्रमण धेरै देखिएका जिल्लामा निषेधाज्ञामार्फत लकडाउन लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । कतिपय स्थानीय तहले जिल्ला प्रशासनसँग समन्वय गरी आफ्नो क्षेत्रमा लकडाउन लागू गरेका छन् ।

रेडजोनमा रहेका जिल्लाहरु

सरकारले दुई सयभन्दा धेरै संक्रमित भएको जिल्लालाई ‘रेडजोन’मा राखेको छ । हाल काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके ‘रेडजोन’मा छन् । यीमध्ये सबैभन्दा धेरै काठमाडौंमा एक हजार चार सय २९ र पर्सामा एक हजार ८४ सक्रिय संक्रमित छन् ।

हाल ७२ जिल्लामा संक्रमण देखिएको छ । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा भने संक्रमितको संख्या शून्य छ ।

उपत्यकामा २० प्रतिशत लक्षण भएका संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा पुष्टि भएका कोरोना संक्रमितमा धमाधम लक्षण लेखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा पुष्टि भएका एक हजार नौ सय ६७ संक्रमितमध्ये २० प्रतिशतलाई कडा खालको लक्षण देखिएको छ ।

लक्षण भएपछि बेड अभावले गर्दा झन्डै नौ सयभन्दा बढी संक्रमित घरमा बसेका छन् । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा मात्रै एक सय ७२ जना संक्रमित थपिएका छन् । त्यस्तै, देशभर ६ सय ४१ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ भने १७ हजार तीन सय ३५ जना निको भएका छन् ।