जनता टाइम्स

१ भाद्र २०७७, सोमबार १८:५०

एसईईको नतिजा सार्वजनिक


काठमाडौं, भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो । विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।

कुल ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा प्रमाणिकरण भएको छ ।

परीक्षाफल प्रकाशित भएपनि भदौ १५ गतेसम्म कुनै पनि कलेजमा विद्यार्थी भर्ना गर्न पाइनेछैन । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

त्यस्तै त्रुटी सच्याउन विद्यार्थीलाई पनिका आउनुपर्ने व्यवस्था समेत हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ ।