जनता टाइम्स

४ भाद्र २०७७, बिहीबार १२:१४

उपत्यकाका बैंकहरु आज खुलेनन्, शुक्रबारबाट खुल्ने


काठमाडौं, भदौ ४

बैंक र प्रहरीबीच समन्वय हुन नसक्दा उपत्यकाका बैंकका शाखाहरु आज बन्द भएका छन् । कार्यालय हिँडेका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि बैंक खोल्न नसकिएको बैंकर्स संघले जनाएको छ । यही कारण बिहीबार उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णय संघले गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै कार्यालयबाट निषेधाज्ञाका बेला जारी भएको फोटोसहितको पास लिएर आउन भनेको थियो । तर, दुई पक्षबीच समन्वय नहुँदा प्रहरीले सबैलाई बाटोमै रोकेर हिडडुलमा प्रतिवन्ध लगाएको थियो । जसले कर्मचारी कार्यालय जान नपाउदा बैंकका शाखाहरु बन्द भएका हुन् ।

‘शाखा बन्द गर्नेभन्दा पनि कर्मचारी नै कार्यालय पुग्न सकेनन,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भन्नुभयो, ‘यही कारण शाखा खोल्न सकिएन ।’

प्रहरीले बैंकका कर्मचारी सडकमै रोकेका सम्बन्धमा स्थानीय प्रशासनसँग छलफल भइसकेको राष्ट्र बैंकले जनाएको छ । ‘गृह मन्त्रालयबाट उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयलाई पुनः निर्देशन गइसकेको छ,’ राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले भन्नुभयो, ‘भोलिदेखि कर्मचारीहरूलाई कुनै रोकतोक हुँदैन ।’ बैंकलाई सम्भव भएसम्म न्यून कर्मचारीबाट थोरै शाखा मात्र खोल्न निर्देशन भइसकेकाले भिडभाड नहुने उहाले दाबी गर्नुभयो ।