जनता टाइम्स

६ भाद्र २०७७, शनिबार १५:०६

अर्थमा योग्य ब्यक्ति छनोटको परिणाम : कोरोनामा पनि यी तीन कार्यालयले गरे लक्ष्य भन्दा बढी राजश्व संकलन


काठमाडौं, भदौ ६ । आन्तरिक राजश्व कार्यालय भरतपुर र कैलाली भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको शुरुआती महिनामा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गरेको छ । सो कार्यालयका अनुसार साउन महिनामा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन भएको हो ।

कोरोना कहरको समयमा समेत आन्तरिक राजश्व कार्यालय भरतपुर कार्यालयलाई १ अर्ब ४६ करोड २२ लाख ३ हजार रुपैया लक्ष्य तोकिएकोमा शून्य दशमलब ९२ प्रतिशत बढी राजश्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख शुबप्रसाद रिजालका अनुसार साउन महिनामा १ अर्ब ४७ करोड ५६ लाख ७५ हजार रुपैया राजश्व उठेको छ । कार्यालयले साउन महिनामा सबैभन्दा बढी अन्तशुल्क शीर्षकबाट राजश्व असुली गरेको छ । सबै भन्दा कम स्वास्थ्य सेवा करबाट उठेको छ । अन्तःशुल्कबाट ९८ करोड २४ लाख ५० हजार र स्वास्थ्य सेवा करबाट ११ लाख २५ हजार रुपैयाँ राजश्व उठेको छ ।

सो कार्यालयले लक्ष्यभन्दा बढी आयकर र व्याजकर शीर्षकमा राजश्व असुल गर्न सफल भएको छ । व्याजकर मा २० करोड १७ लाख ९४ हजार रुपैयाँ राजश्व उठेको छ । यो महिनामा १३ करोड ३७ लाख ७३ हजार रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य लिइएको थियो । आयकरमा पनि कार्यालयले २ करोड ८० लाख २४ हजार रुपैयाँ राजश्व असुली गरेको छ । साउन महिनामा यसमा ७६ लाख ५२ हजार रुपैया राजश्व असुली गर्ने लक्ष्य लिएको थियो ।

यस्तै मुल्य अभिवृद्धि कर (भ्याट) अन्तर्गत २५ करोड ८३ लाख ९५ हजार र बहाल कर ३८ लाख ८७ हजार रुपैयाँ असुली भएको छ । विभागले कार्यालयलाई यस वर्षको १८ अर्ब ९० करोड रुपैयाँ लक्ष्य तोकेको थियो । यस कार्यालय अन्तर्गत हाल ५० हजार करदाता रहेका छन । यस्तै कैलालीस्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालय पनि आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल भएको छ । सत्ती भन्सार कार्यालय खक्रौला, कैलाली भन्सार कार्यालय धनगढी र आन्तरिक राजश्व कार्यालय कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको हो ।

सत्ती भन्सार कार्यालय खक्रौलामा साउन महिनाको राजश्व लक्ष्यभन्दा ५७५ प्रतिशत बढी असूली भएको छ । भन्सारले साउनका लागि रु ३६ लाख ३९ हजार राजश्व उठाउने लक्ष्य राखेकोमा रु दुई करोड नौ लाख १४ हजार सङ्कलन भएको भन्सार प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिनुभयो । ‘भन्सार छली, चोरी पैठारी कम भएको छ’, भन्सार अधिकृत चौरसियाले भन्नुभयो, ‘दुई किलोमिटरमा सशस्त्र प्रहरी र भन्सारमा २४ सै घण्टा नेपाल प्रहरीको निगरानीले राजश्व सङ्कलन बढेको हो ।’ चौरसियाले नाकामा खुलारुपमा आवतजावत बन्द भएपछि आवश्यक सामान भन्सारकै बाटो आउने गरेकाले राजश्व वृद्धिमा थप सहयोग पुगेको बताउनुभयो ।

दुई वर्षअघि स्तरोन्नति भएको सत्ती भन्सारले गत आवभरिमा रु पाँच करोड ८० लाख ७ हजार मात्रै राजश्व उठाएको थियो । यस वर्ष ६ करोड सात लाख रुपैयाको लक्ष्य राखेको छ । ‘साउन महिनामा भन्सारबाट चामल धेरै निर्यात भएको छ’, चौरसियाले भन्नुभयो, ‘यसपटक कपडा, मोटर पार्टस् र हार्डवेयरका सामान धेरै आएका छन् जसले राजश्व बढेको छ । प्रहरी, प्रशासनको यस्तै सहयोग रहे तीन महिनामै वार्षिक लक्ष्य पूरा गर्न सक्छौँ ।’ कैलाली भन्सार कार्यालयले पनि पहिलो महिनामा लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । साउन महिनामा ४८ करोड ३२ लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य राखिएकोमा ५७ करोड ७२ लाख रुपैयाँ राजश्व उठेको भन्सार अधिकृत डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

लामो समयको लकडाउनले रोकिएको आयात बढेकाले राजश्व २० प्रतिशतले बढेको उहाँको भनाई छ । शर्माका अनुसार यस अवधीमा चामल, गहुँ, पापड भुजिया, दालमोठ जस्ता खाद्य वस्तुको आयात धेरै भएको छ । यस्तै आन्तरिक राजश्व कार्यालय कैलालीले पनि साउन महिनामा लक्ष्यभन्दा २६ प्रतिशत बढी राजश्व उठाएको छ । साउनका लागि ५५ करोड २१ लाख ८२ हजार लक्ष्य राखेकामा ६९ करोड ५२ लाख ७८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।