जनता टाइम्स

१२ भाद्र २०७७, शुक्रबार ०८:४१

नागरिकलाई मन्त्रीको अपिल : झोलङ्गे पुल नबनेर तुइन विस्थापनको काम बाँकी भए सूचना दिनुहोस


काठमाडौं, भदौ १२ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशभित्र झोलङ्गे पुल नबनेर तुइन विस्थापन गर्न नसकिएको भए तत्काल मन्त्रालयमा सूचना उपलब्ध गराउन अपिल गर्नुभएको छ । मन्त्री फुयाँलले सामाजिक सञ्जाल र मिडियामार्फत यस्तो अपिल गर्नुभएको हो । उहाँले अत्यावश्यकीय क्षेत्रका स्थानीय तहमार्फत झोलुङ्गे पुलको माग गरेर प्रदेशको भौतिक मन्त्रालयमा पठाएमा तुइन विस्थापन गरी पुल निर्माण प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

‘बागमती प्रदेशभित्र बिस्थापन गर्नु पर्ने तुईन भए सूचना उपलब्ध गराई दिनु होला । अति आबश्यक अबस्था छ भने स्थानीय तह मार्फत झोलुङ्गे पुलको माग गरेर बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउन सकिन्छ । यसै भाद्र मसान्तभित्र सूचना उपलब्ध गराई दिनहुन जनसमुदायसमेतलाई सविनय अनुरोध छ । प्राविधिक रुपले संभव,जनताका लागि आवश्यक अध्ययनले देखिएमा चरणवध्द संबोधन गरिनेछ । तीनै तहका सरकारको संयुक्त पहलमा जनसहभागिता सहित काम सम्पन्न गरिनेछ,’ मन्त्री फुयाँलले भन्नुभयो ।

उहाँले यसरी प्राप्त हुने मागपत्रमध्ये अध्ययनमार्फत प्राविधिकरुपमा सम्भव र जनताका लागि आवश्यक भनी देखिएमा चरणबद्ध सम्बोधन गरिने स्पष्ट गर्नुभयो । उहाँले मन्त्रालयले देशका तीनै तहका सरकारको सहभागिता र जनसहभागितासमेतमा काम सम्पन्न गर्ने बताउनुभयो ।मन्त्री फुयाँलले कृषि उत्पादन बढाउनका लागि महत्वपूर्ण भूमिका रहने पुराना राजकुलो संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार संरक्षणको सूचीमा मकवानपुरको थाहा–९ मा रहेको राजकुलोसहित प्रदेशका आठ जिल्लाका २३ राजकुलो संरक्षणको सूचीमा छन् । नेपालमा लिच्छविकालदेखि कृषि उत्पादन बढाउन योगदान दिएका राजकुलोलाई मन्त्रालयले सम्पदाका रुपमा सूचीकृत गरेको छ ।

मन्त्री फुयाँलले आर्थिक वर्ष २०७७/७८ मा मूर्त सम्पदाका रुपमा रहेका ती राजकुलोलाई सम्पदाका रुपमा पुुनःनिर्माण गरेर संरक्षणको अभियान थालिने जानकारी दिनुभयो । मन्त्री फुुयाँलले वाग्मती प्रदेश सरकारले आव २०७४/७५ को नीति तथा कार्यक्रममा विसं २०८५ वैशाख १ गतेभित्र सवारीसाधनको वर्तमान पेट्रोलियम प्रणाली विस्थापित गर्ने नीति लिएको स्मरण गराउँदै सो कार्यका लागि निकट भविष्यमै विद्युतीय सार्वजनिक बस तथा त्यसको चार्जिङ स्टेशन र बस सञ्चालनको संयन्त्र बनाइने जानकारी दिनुभयो । मन्त्री फुयाँलले बस खरीद शुरु गर्नु अगाडि मूल्यसूची माग गर्दै सूचना जारी गरिसकिएको जानकारीसमेत दिनुभयो ।