जनता टाइम्स

१५ भाद्र २०७७, सोमबार २१:५५

काठमाडौं उपत्यकामा तत्कालै दुई हजार शैय्याको क्वारेन्टिन बनाउने सरकारको निर्णय


काठमाडौं, भदौ १५

सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति काठमाडौँ उपत्यकामा २००० शैय्याको बेग्लै स्थान (क्वारेन्टिन) शीघ्रातिशीघ्र निर्माण गर्ने निर्णय गरेको छ । खाडी मुलुकबाट आउने नेपालीलाई क्वारेन्टिनमा राख्ने ठाँउको अभाव भएपछि २ हजार जना अट्ने क्वारेन्टिन बनाउने निर्णय भएको हो ।

कोरोनाका शङ्कास्पद बिरामी र स्वदेश विदेशको यात्रा गरेका विशेष ध्यानदिनुपर्ने व्यक्तिलाई बेग्लै राखेर निगरानी तथा उपचारको व्यवस्था गर्ने उक्त स्थल निर्माणको जिम्मेवारी सहरी विकास मन्त्राललाई दिइएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले वर्तमान परिस्थितिलाई दृष्टिगत गरी चाँडोभन्दा चाँडो निर्माण पूरा गर्न उक्त मन्त्रालयलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ अनुसार आवश्यक सामग्री खरिद गर्ने अनुमति दिएको छ ।

क्वारेन्टिन बनाउने भएपछि सरकारले विदेशबाट आउने नेपालीको दैनिक संख्यामा पनि वृद्धि गरेको छ । यसअघि दैनिक ५ सय जनामात्रै आउने निर्णय गरेको भएपनि त्यसमा थप तीन सय जना आउने पाउने व्यवस्था गरेको छ ।

मन्त्रिपरिषद्ले भदौ ३० गतेपछि बहराइनका राजकुमारसहित १५ जना उक्त देशका नागरिक र तीनजना बेलायती गरी १८ जनाको टोलीलाई लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिइएको छ । मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले भन्नुभयो, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नेगरी उक्त टोलीलाई विशेष विमान (चार्टर फ्लाइट)बाट नेपाल आउन अनुमति दिइएको छ ।’