जनता टाइम्स

१६ भाद्र २०७७, मंगलवार १९:२६

युरिया मलको संकट टार्न प्रधानमन्त्री आफैले लिए पहलकदमी, बंगलादेशसँग जुट्यो यस्तो सहमति


काठमाडौं, भदौ १६ । बालीनालीमा हाल्नका लागि नेपालमा युरिया मल अभाव भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफैले हलकदमी लिनुभएको छ । प्रधानमन्त्री ओलीले आज बंगलादेशका सहकर्मीसँग टेलिफोन संवाद गरी मल ल्याउने प्रक्रियाको विषयमा छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षी (प्रधानमन्त्री) शेख हसिना वाजेदसँग आज दिउसो टेलिफोन संवाद गर्दै रासाइनिक मल आपुर्तिको बिषयमा कुराकानी गर्नुभएको हो । संवादपछि प्रधानमन्त्री ओलीले नेपालमा युरिया मल आपूर्ति गर्न बंगलादेशी प्रधानमन्त्री शेख हसिना सकरात्मक रहेको जानकारी दिनुभएको छ ।

‘आज दिउँसो बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धका अनेकौँ पक्षबारे मैले फलदायी टेलिफोन संवाद गरें,’ प्रधानमन्त्री ओलीले संवादलगत्तै ट्विट गर्दै भन्नुभएको छ, ‘यो बालीको सिजनमा तत्काल युरिया आपूर्ति गर्ने मेरो आग्रहलाई उहाँले सकारात्मक रुपमा लिनुभएको छ ।’ प्रधानमन्त्री ओलीले बंगलादेसी समकक्षीसँग द्धिपक्षीय हितको बिषयमा समेत कुराकानी भएको जानकारी दिनुभएको छ ।

‘हामीले दुई देशबीचको व्यापार, उर्जा र अर्का बीचमा पारवहनमा सहयोग बढाउनुपर्ने आवश्यकतालाई जोड दियौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ । नेपालमा बाली नालीमा मल हाल्ने बेलैमा अभाव हुँदा सरकारको आलोचना भइरहेको छ । नेपालले बंगलादेशसँग ५० हजार टन युरिया मल सापटी (पैँचो) माग्न लागेको छ । युरिया मल बंगलादेशबाट नेपाल ल्याउनको लागि परराष्ट्रमन्त्रालयले एक साताअघिबाटै कूटनीतिक पहल थालेको थियो ।

यस्तै कृषि मन्त्री घनश्याम भुसालले पनि बंगलादेशस्थित नेपाली दूतावासको समन्वयमा बंगलादेशको सरकारी संस्थान मल विभागका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । उक्त छलफलमा बंगलादेशबाट नेपालमा तत्कालै मल ल्याउन संभावना र त्यहाँका प्रतिनिधि सकरात्मक भएपछि प्रधानमन्त्रीस्तरमा छलफल भएको हो । नेपाललाई आवश्यक रहेको युरिया मल पैँचो दिन बंगालादेश पनि सकारात्मक देखिएको हो ।