काठमाडौं, भदौ १७
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा थप कडाइ गर्ने तयारी भएको छ । तर, सो कडाईलाई कसरी लागु गर्ने भन्नेबारेमा अहिले छलफल चलिरहेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार छलफल चलिरहेकाले के गर्ने भन्नेबारे गृहकार्य भईरहेको बताउनु भयो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णयको समय आज मध्यराति सकिँदै छ । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक उपत्यकामा निषेधाज्ञा थपिएको थियो । स्रोतका अनुसार केही क्षेत्र खुकुलो गरेर निषेधाज्ञा बढाउने तयारी छ ।
यसैबीच, नगरप्रमुखहरुको धारणा भने कर्फ्यु लगाउनुपर्ने रहेको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका नगरपालिकाका मेयरहरुको सञ्जाल उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने जनाएको छ ।
मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाव दिएको बताउनुभयो ।
फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यु आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सुझाव दिएको बताउनुभयो । मेयर श्रेष्ठका अनुसार यसअवधिमा नगरमा रहेका श्रमिकलाई वडा कार्यालयबाट राहत बाड्ने समेत जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्