मोरङ, भदौ १७ । प्रदेश १ को राजधानी बिराटनगरमा हतियार देखाएर व्यापारीलाई धम्क्याउँदै रकम असुली गर्ने समुह एक वर्षदेखि सक्रिय रहेको तथ्य बाहिर आएको छ । आपराधिक समुहमा आवद्ध पाँच सदस्यलाई प्रहरीले पक्राउ गरेसँगै यो तथ्य बाहिर आएको हो ।
हतियारको बलमा ज्यान मार्ने धम्की दिने र पैसा लिने गरेपनि गिरोहसँग डराएका कारण व्यवसायीले घटनालाई लुकाएर लामो समयदेखि प्रहरीलाई जानकारी नदिएको पाइएको हो । उक्त गिरोहमा आवद्ध रहेकामध्ये पाँच जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक छन् । भारत बिहार सितामडी घर भएका २७ वर्षीय राजु साह, मोरङको कटहरी गाउँपालिका–२ आदर्श नगरका २६ वर्षीय किसन साह, २८ वर्षीय एलेक्स भनिने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरीको बोदेवसाइन नगरपालिका–८ का २७ वर्षीय नन्दु भनिने नन्दकिशोर साह पक्राउ परेका हुन ।
प्रहरीका अनुसार सो समुहले एक बर्षदेखि ब्यापारीलाई ज्यान मार्ने धम्की दिएर रकम असुली गर्दै आएको थियो । प्रहरीले विराटनगरको जलजला चौकस्थित चाइना बजारमा कपडा बेच्ने काम गर्दै आएका भारतीय नागरिक राजुलाई विराटनगर महानगरपालिका–८ रेन्बो गल्लीस्थित उनकै डेराबाट पक्राउ गरिएको जनाएको छ । त्यस्तै किसनलाई विराटनगर–८ देवकोटा चौक, रविनलाई आफैँ घर, नन्दकिशोर र अभिषेकलाई विराटनगर–३ कञ्चनबारीस्थित नन्दकिशोरको डेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले संगठित रुपमा अपराधिक समूह स्थापना गरेर गिरोहमा आवद्ध रहेकाले हतियार देखाउँदै एक वर्षदेखि व्यापारीसँग पैसा असुल्ने गरेको पाइएको बताउनु भयो । व्यापारीलाई ज्यान मार्ने धम्की दिएर पैसा लिने क्रमसँगै लुटपाट एवं चोरीका घटना पनि बढेको विशेष सूचनाका आधारमा गिरोहसम्म पुग्दै पक्राउ गर्न प्रहरी सफल भएको उहाँले बताउनु भयो ।
एसपी खड्काका अनुसार सो गिरोहका मुख्य नाइके अभिषेक रहेको र हतियार देखाउँदै त्रसित बनाएर व्यापारीसँग रकम असुल्ने धन्दा उनकै योजनामा चलाइएको तथ्य खुलेको बताउनु भयो । उहाँका अनुसार पक्राउ परेकामध्ये रविन र नन्दकिशोर अभिषेकका विश्वासपात्र र अरु दुई मुख्य सहयोगी रहेको खुलेको छ । रविनकै घरबाट प्रहरीले मंगलबार साँझ एउटा अटोमेटिक पेस्तोल र तीन राउण्ड गोली पनि बरामद गरेको छ । पक्राउ पर्नेमध्ये नन्दकिशोरको डेराबाट भारतीय र नेपाली रुपैयाँ गरेर ९७ हजार एक सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ । जसमा ४९ हजार चार सय ५० भारतीय रुपैयाँ छ ।
प्रहरीले विभिन्न कम्पनीका १६ थान मोबाइल, कोटाक महिन्द्र नामको भारतीय बैंकको चेक, उनीहरुले प्रयोग गर्ने को ३२ प ७५२५, को १५ प २३१५ र को ३६ प २७६२ नम्बरको मोटरसाइकल र एउटा चक्कु नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका पाँच जना र उनीहरुबाट बरामद गरिएको हतियार, नगद लगायतका सामान आज सार्वजनिक गरेको हो । उनीहरुविरुद्ध हातहतियार खरखजना, अपराधिक लाभ र चोरी तथा संगठित अपराधमा मुद्दा चलाउन आजै म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी खड्काले दिनुभयो ।
यो गिरोहमा अरु पनि आवद्ध भएको हुन सक्ने आशंकामा विभिन्न कोणबाट अनुसन्धान गर्दै थप अभियुक्त खोज्ने प्रयास भइरहेको खडकाले बताउनु भयो । खड्काले यो गिरोहबाट अरु व्यापारी वा सर्वसाधारण कोही पीडित भएमा तत्काल प्रहरीमा जानकारी गराउन आग्रह पनि गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्