जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार ०७:१०

बाग्लुङमा बाढीले बस्ती बगायो, एक जनाको शव भेटियो, ११ जना बेपत्ता


बाग्लुङ, भदौ १८ । निरन्तरको वर्षासंगै बागलुङको ढोरपाटन नगरपािलका–९ भुजीखोलामा आएको बाढीले बस्ती बगाउँदा ११ जना बेपत्ता भएका छन । बाढीमा बेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको छ ।

स्थानीय बासिन्दाको भनाई उधृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार बाढीले ढोरपाटन नगरपालका–९, साबिक बोवाङ गाविसको भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोट, दोगाडी लगायतका बस्तीहरुमा ठूलो क्षति भएको छ । बाढीले विद्युत गृह, सरस्वती आधारभूत विद्यालय र जनचेतना प्रार्थमिक विद्यालयको भवनमा समेत क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार घटना रातिको समयमा भएका हुँदा क्षतिको एकीन विवरण आइसकेको छैन, बाढीले ठूलो धनजनको क्षति भएको छ । हामी उद्धारमा खटिएका छौं,’ भण्डारीले भन्नुभयो । बाढीले खोला किनारमा रहेका बस्तीहरु बगाएको उहाँले बताउनु भयो ।

ढोर देउरालीबाट झरेको बाढी–पहिरोले पुर्‍याएको क्षति र बाढीमा बेपत्ता भएकाहरुको उद्धार तथा खोजीमा आज विहानैबाट प्रहरी र स्थानीयहरु जुटेका छन् । एक जनाको शव बुर्तिवाङको पुरानो पावरहाउसमा भेटिएको प्रहरी निरीक्षक भण्डारीले बताउनु भएको छ ।