जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार १६:०७

बामदेव जस्तो नेता संसदमा जाँदा खुसी हुन्छु : अर्थमन्त्री


काठमाडौं, भदौं १८ । अर्थमन्त्री डा. युवराज खतिवडाले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई नै राष्ट्रियसभा सदस्यमा सिफारिश गर्न सुझाव दिनुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अर्थमन्त्री खतिवडाले सो सुझाव दिनुभएको हो ।

पार्टी उपाध्यक्ष बामदेव गौतम आफैले राष्ट्रपतिबाट मनोनीत सदस्यका रुपमा राष्ट्रियसभामा जाने इच्छा राख्नुभएपछि नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री ओलीलाई भेटेरै आफ्नो नाममा अडान नलिई गौतमलाई नै सिफारिश गर्न सुझाव दिनुभएको स्रोतले बतायो ।

‘बुधवार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, प्रचण्डको भेटबार्तालगत्तै प्रधानमन्त्रीसँग भेटेर अर्थमन्त्रीले गौतमले जान्छु भनेर सार्वजनिक अडान राखेपछि सोहीअनुसार सिफारिश गर्न सुझाव दिनुभएको हो, बामदेव जस्तो सम्मानित नेतालाई संसदमा पठाउन आफू सधै सहयोगी बन्नुपर्ने तथ्य पनि अवगत गराउनु भयो,’ भेटबारे प्रधानमन्त्री सचिवालयका एक सदस्यले जनताटाइम्ससँग भने । ती सदस्यका अनुसार अर्थमन्त्री खतिवडाले आफू नेकपा र सरकारलाई सफल बनाउन जुनसुकै त्याग गर्न तयार रहेको जानकारी पनि प्रधानमन्त्रीलाई गराउनु भएको छ ।

राष्ट्रियसभा सदस्यको सिफारिशको बिषयमा उपाध्यक्ष गौतम र आफ्नो नाममा पार्टीभित्र बहश चलेपछि लामो समयदेखिको मौनता तोडदै अर्थमन्त्री खतिवडाले सहज रुपमा निकास दिनका लागि प्रधानमन्त्री ओलीलाई सो सुझाव दिनुभएको हो । राष्ट्रियसभामा गोलाप्रथाबाट दुई बर्षे कार्यकालका लागि चयन हुनुभएका अर्थमन्त्री खतिवडाको म्याद गत फागुनमा सकिएको थियो । उहाँको म्याद सकिए पनि प्रधानमन्त्री ओलीले गैर सांसदको रुपमा अर्थमन्त्री नियुक्त गरी भदौं २० गतेभित्र पुनः राष्ट्रियसभामा मनोनीत गरी अर्थमन्त्रीका रुपमा निरन्तरता दिन चाहनुभए सचिवालयकै नेताहरुले आपत्ति जनाएपछि रोकिएको थियो ।

पछिल्लो समय उपाध्यक्ष गौतमले सार्वजनिक रुपमा र आफूसँगको भेटमा राष्ट्रियसभामा जाने बताउनु भएपछि अर्थमन्त्री खतिवडा आफैले बाटो खुला गरिदिनु भएको हो । स्रोतका अनुसार अर्थमन्त्री खतिवडाले आफू समस्या नभई समाधानका रुपमा अघि बढन चाहेको पनि प्रधानमन्त्री ओलीलाई प्रष्ट पार्नुभयो ।

‘मुल कुरा मुलुक, जनता, सरकार र नेकपाको हितमा सोच्नुपर्छ, सकेको सहयोग गर्नुपर्छ, बाँकी कुरामा समय खेर फाल्ने अवस्था छैन, बामदेव गौतम जस्तो श्रद्धेय नेता, जो हाम्रो पार्टीको उपाध्यक्ष हुनुहुन्छ, उहाँले संसदमा आफ्नो भुमिका खोज्नुभएको कुरा बुझेर संसदमा जान खोज्नु मेरो लागि स्वागतयोग्य कुरा नै हो, उहाँ जस्तो मान्छे संसदमा जानुपर्छ, संसदलाई प्रभावकारी बनाउनु पर्छ, उहाँ संसदमा जाँदा म धेरै खुसी हुन्छु,’ अर्थमन्त्री खतिवडाको भनाई उधृत गर्दै ती सदस्यले भने ।