जनता टाइम्स

२५ भाद्र २०७७, बिहीबार १५:३७

सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन मन्त्री गुरुङको निर्देशन


काठमाडौं, भदौ २५

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने गरी काम गर्न समाज कल्याण परिषदका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री गुरुङले समाज सेवा, मानव सेवाजस्तो उत्कृष्ट कामलाई बदनाम गराउने गतिविधि देखिने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन परिषदका कर्मचारीहरुलाई सचेत समेत गराउनु भएको हो ।

आज परिषद कार्यालयमा आयोजित वरिष्ठ निर्देशक शिवकुमार बस्नेतको विदाई समारोहमा बोल्दै उहाँले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउन परिषदले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने सोचलाई अघि बढाएको स्पष्ट पार्नुभयो । सामाजिक संघ, संस्थाहरुलाई आत्मनिर्भर बनाउँदै अघि बढाउन सो कोषले आधार तय गर्ने उहाँको भनाई थियो ।

परिषदलाई आफ्नो लक्ष्य हासिल हुने गरी काम गर्न सक्ने बनाउन आवश्यक सुझाव दिन पनि परिषदका कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा मन्त्री गुरुङले योग्यता र क्षमताको आधारमा कर्मचारीहरुलाई जिम्मेवारी दिने मापदण्ड तय गरिएको उल्लेख गर्दै सोही अनुसार अघि बढ्न ध्यानाकर्षण गराउनुभयो । उहाँले परिषदको कामलाई गतिशील बनाउन कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि आवश्यक सबै खालको तालिम, प्रशिक्षणलगायतका व्यवस्था गर्ने बताउनु भयो ।

कार्यक्रममा परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले सामाजिक उद्यमीलताको माध्यामबाट सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउने गरी आवश्यक निर्देशिका, कार्यविधि संशोधन, परिमार्जन गर्ने कामलाई अघि बढाइएको मन्त्री गुरुङलाई जानकारी गराउनुभयो । सदस्य सचिव पुस्कर खातीले सुशासन र परिणाममुखि कामको माध्यामबाट परिषदको कामलाई अघि बढाउने योजना तय गरिएको बताउनुभयो ।