जनता टाइम्स

२५ भाद्र २०७७, बिहीबार २०:४६

बिज्ञसँग यसरी बित्यो ओली-प्रचण्डको तीन घण्टा


काठमाडौं, भदौ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने स्पष्ट गर्नुभएको छ ।

कोभिड १९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै प्रधानमन्त्री ओलीले आयुर्वेदभित्रै योगा पनि पर्ने बताउनु भयो । आयुर्वेद खासमा औषधी र आरोग्य विज्ञान दुबै हो, प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो ।

थापाका अनुसार सो क्रममा प्रधानमन्त्री ओलीले मेशीनहरू एलोपेथिक नभएको प्रष्ट पार्नुहुँदै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष राखिएको उल्लेख गर्नुभयो ।

निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको धारणाका साथ प्रधानमन्त्रीले पटकपटक स्मरण गर्नुभयो, हाम्रा पूर्वजहरूले औषधीमय खानपानको प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामो अनुुभव र प्रयोगबाट औषधीमय तत्वको पहिचान र प्रयोग गरेका बताउनुभयो । कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबबनाउन र यसको प्रयोगलाई बढाउन समेत सबैको ध्यानाकर्षण गराउनुभयो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डका साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिनुभएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसको व्यापक प्रचारप्रसार गर्न पनि जोड दिनुभयो ।

उक्त अवसरमा आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्याय, डा. ऋषिराम कोइराला, डा. प्रदीप केसी, विनोद पौडेल, डा. रामआधार यादव, डा. सन्तोष ठाकुर, प्राडा. डीबी रोका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा.धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राख्नुहुँदै प्रधानमन्त्रीको तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलो पटक परामर्श गरिएकोमा विशेष आभार र धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

पार्टीका अर्का अध्यक्ष प्रचण्डले यस कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराउनुभएकोमा धन्यवाद ज्ञापन गर्दै दुबै अध्यक्षलाई गंभीर ढंगले घच्घच्याउने काम गरेको अनुभूति राख्नुभयो ।