जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार १४:२०

बेलायतमा एनआरएन बहश : गैरआवासीय नागरिकता समयानूकुल बनाउन सुझाव


लन्डन, जेठ १४

लण्डनमा भेला भएका गैर आवासीय नेपाली संघ (एनआरएनए) का नेता तथा कानुनविद्हरूले प्रवासी नेपालीका लागि उदार कानून बनाउन नेपाल सरकारलाई सुझाव दिएका छन । उनीहरुले गैरआवासीय नागरिकता सम्बन्धी कानुन उदार र समयानुकूल बनाउन नेपाल सरकारलाई आग्रह गरेका हुन ।

बेलायतको अल्डरसटमा आयोजित छलफलमा बोल्दै गैरआवासीय नेपाली संघका संरक्षक तथा नागरिकतासम्बन्धी कार्यदल संयोजक रामप्रताप थापाले विभिन्न मुलुकले विदेशस्थित नागरिलाई स्वदेशको विकासमा सघाउन आह्वान गरे पनि प्रवासी नेपाली मातृभूमिको सेवाका लागि आफैं संगठित भएको बताउनु भयो ।

‘२४ न्युज प्रेस डटकम’ ले आफ्नो पहिलो वार्षिकोत्सव अवसरमा आयोजना गरेको कार्यक्रममा थापाले संसारभरि छरिएका नेपालीको नागरिकता निरन्तरता गर्दा नेपाललाई कुनै घाटा नहुने बिभिन्न तथ्यहरु पनि राख्नुभयो ।

‘एनआरएन बहस’ मा भाग लिँदै गैरआवासीय नेपाली संघ केन्द्रीय उपाध्यक्ष कुल आचार्यले भारत, चीनजस्ता मुलुकको विकासमा प्रवासी नागरिकको भूमिकाबारे चर्चा गर्नुभयो । हाल संसदमा विचाराधीन नागरिकता विधेयकमा संवैधानिक व्यवस्थाबमोजिम गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको तर त्यस्तो व्यवस्था झन्झटिलो हुन नहुने आचार्यको भनाई थियो ।

‘झण्झटिलो कानून बनाउने होइन, प्रवासमा रहेका सवै नेपालीलाई सहज हुने गरी नागरिकताको ब्यवस्था गर्नूपर्छ, समृद्ध नेपाल निर्माणको लक्ष्य पूरा गर्न यो अनिवार्य छ,’ आचार्यले भन्नुभयो । उहाँले गोर्खाको मुद्दा पनि बार्ताको माध्यमबाट पूरा गर्न सवैले पहलकदमी लिनुपर्ने बताउनु भयो ।

छलफलमा अधिवक्ता गोविन्द बेलबासेले नागरिकता ऐन २०६१ को दफा १० प्रवासी नेपालीका लागि भेदभावपूर्ण रहेको भन्दै खारेजीका लागि मुद्दा दायर गरेको जानकारी दिनुभयो । अन्तराष्ट्रिय मानव अधिकार अध्येता नारायण कँडेलले संसारका ४२ मुलुकले दोहोरो नागरिकता दिने गरेको बताउनु भयो । अधिवक्ता सुरेन्द्र श्रेष्ठले प्रवासी नेपालीलाई सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार मात्र दिइनु भेदभावपूर्ण हुने बताउनु भयो ।

कार्यक्रममा एनआरएनए यूकेका उपाध्यक्ष शेरबहादुर सुनार, न्यू साउथ वेल्स अस्ट्रेलियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत दीपक खडका, गैरआवासीय नेपाली संघ आईसीसीका सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएन यूकेका पूर्वअध्यक्ष योगेन क्षत्री, एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायतले सरकारले लगानीका लागि पूर्वाधार बनाउनुपर्ने तथा लगानी नीति परिवर्तन गर्नुपर्ने सुझाव दिनुभएको थियो । उहाँहरुले गैर आवासिय नागरिकताको बिषयमा नेपाल सरकारले प्रवासीको मन जित्ने गरी ल्याउनु पर्ने भन्दै एक पटकको नेपाली सधैको नेपाली हुने यथार्थलाई बिद्येयकमा समटनु पर्नै बताउनु भयो ।

कार्यक्रममा ‘२४ बेलायतका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदीले आन्दोलन, घेराउ, संघर्षजस्ता दुई देशबीचको सम्बन्धमा असर पार्ने कुराले गोर्खा समस्या समाधान नहुने बताउनु भएको थियो । एनआरएन युकेका उपमहासचिव तथा २४ न्यूज प्रेस डटकमका अध्यक्ष बिनय अधिकारीले कार्यक्रममा उपस्थितिले आफूलाई निकै हौसला बढाएको बताउनु भयो ।