जनता टाइम्स

२६ भाद्र २०७७, शुक्रबार २०:२९

भक्तपुरको निकोसेरामा एकैघरका तीन जनाको र घरपालुवा कुकुरको शव यसरी भेटियो घरमै


काठमाडौं, भदौ २६

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका ३ जना मृत फेला अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार एकैघरमा श्रीमान, श्रीमती, छोरा र उनिहरुले पालेको कुकुरको शव भेटिएको हो ।

महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमा रहेको चारतले घरमा कुकुरसहित सुदिप अधिकारीको परिवारका तीन जनाको हत्या गरेको अवस्थामा शव फेला परेको हो । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव मृत अवस्थामा फेला परेको जानकारी दिएको छ ।

आज करिब ४ः०० बजे मृतकका भाइ सुनिल अधिकारीले दाजुको घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झनाको शव, तेस्रो तलामा सुशान्त तथा माथिल्लो तलामा सुदिपको शव फेला परेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । मृतकका भाइ सुदिपका अनुसार घरको पहिलो तल्लादेखि माथिका सबै तलाको ढोकामा चुकुल नलगाएको अवस्था थियो । मृतकको घरसँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका परिवार बाहिर ननिस्किएको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनिहरुको शव केही दिन अगाडीको जस्तो देखिएको छ । पहिलो तल्लामा रहेको शव केही पुरानो हो भने माथिल्लो तल्लामा रहेका शव सग्लो अवस्थामा रहेको प्रहरीले बताएको छ । उनिहरुको केही दिन र केही साता अगाडी नै हत्या वा आत्महत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । भक्तपुरका एसपी तारादेवी थापाका अनुसार मृत्यु अघि उनिहरुले केही संघर्ष गरे जस्तो पनि देखिएको छ । तर, सम्पूर्ण अनुसन्धानपछि मात्रै हत्या वा आत्महत्या के हो भन्ने सकिने उहाले जनता टाइम्सलाई जानकारी दिनुभयो ।

मृतकको घरको तल्लो तलामा किराना पसल समेत रहेको छ । साथै सो घर वरिपरि अरु घर रहेपनि घटना भने धेरै पछि मात्र थाहा भएको हो । लकडाउनका कारण पनि छिमेकीबीच आवतजावत कम भएकाले थाहा भएको हुन नसक्ने थापाले बताउनु भयो । अहिले घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।