काठमाडौं, भदौ २७ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चर्किएको विवाद पाँच महिनापछि सहमतिमा पुगेको छ। शुक्रवार सम्पन्न स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गर्नुभएको साझा प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै नेकपाले पुनः सहमतिको यात्रा तय गरेको हो ।
स्थायी कमिटीको यो निर्णयसँगै अब प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकार र प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्नुहुनेछ । बैठकले पार्टी एकताका काम सम्पन्न गरेर आगामी चैतमा महाधिवेशनमा गर्ने निर्णयसमेत गरेको छ। भारतले अतिक्रमण गरेको कालापानी, लपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी भई संबिधानसमेत संशोधन भएपछि एकाएक नेकपाभित्र बिधि पद्धतीको नाममा बिवाद बढेको थियो । बिवादबीच असार १० गते सुरु भएको स्थायी समिति बैठक कार्यसूचीभन्दा बाहिर गएर प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामामा पुगेपछि बैठक बस्न नसक्ने गरी भाँडभैलो मच्चिएको थियो। साउन १३ गते विवादले उग्ररूप लिएको थियो ।
अध्यक्ष ओलीबिरुद्धको मोर्चावन्दीमा रहेको समुहले पार्टी नै बिभाजनको मोडमा पुर्याएको निश्कर्षसहित उपाध्यक्ष बामदेव गौतमले त्यसै दिन ६ बुँदे एकताको प्रस्ताव राखेर नेकपा बिवादमा निर्णायक हसतक्षेप गर्नुभएको थियो । चरम बिवादबीच अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गर्नुभयो भने प्रचण्डले बैठक सञ्चालन गर्नुभयो । दुई अध्यक्षको यो अडानपछि दोस्रो तहका नेताहरूको अथक प्रयास र दुई अध्यक्षको मिलेरै जानुपर्ने चाहनाले नेकपालाई फेरि जोड्ने काम गरेको हो। दोस्रो तहकै नेताहरुकोपहलपछि दुवै अध्यक्षले समस्या समाधान सुझाव कार्यदल गठन गर्नुभयो । कार्यदलले दिएको प्रतिवेदनलाई आत्मसात् गर्दै नेकपाले शुक्रवारबाट बिवाद समाधान गरेको छ ।
शुक्रवारको बैठकमा दुवै अध्यक्षले पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउने र यसअघि भएका त्रुटी अव नदोहोर्याउने अठोट गर्नुभएको छ । दुवै अध्यक्षले नेकपालाई बिभाजन गरी अस्थिरता मच्चाउन चाहने देशीबिदेसी प्रतिक्रियावादीको योजना बिफल भएको घोषणा गरेर आफूहरुमा देखिएको कमजोरीलाई सुधार गर्ने घोषणा पनि बैठकमा गर्नुभएको छ । बैठकमा दुई अध्यक्ष भिडाएर पद प्राप्ती गर्ने योजनासहित अघि बढदै आएका सचिवालयका अन्य नेता र स्थायी कमिटीका नेताहरुले पनि आफ्नो कमजोरी स्वीकार गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्