जनता टाइम्स

२७ भाद्र २०७७, शनिबार ११:२६

पाँच वटा ब्राण्डका ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन


काठमाडौं, भदौ २७

नेपाली बजारमा रहेका पाँच वटा ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन फेला परेको भेटिएको छ । औषधी व्यवस्था विभागले बजारमा प्रयोग भइरहेका पाँच वटा ब्राण्डका ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन मेथानल मिसाइएको भन्दै प्रयोग नगर्न सूचना जारी गरेपछि यसको रहस्य खुलेको हो ।

पाँच मध्ये चार वटा काठमाडौं र एउटा भक्तपुरका उद्योगबाट उत्पादित रहेका छन् । विभागले सूचना प्रकाशित गर्दै बजारमा उपलब्ध ती ह्यान्ड स्यानिटाइजरको नमूना संकलन गरेर राष्ट्रिय औषधि प्रयोगशालामा परिक्षण गरिएको जनाएको छ । पाँचै खालका स्यानिटाइजरले तोकिएको ‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरित विषाक्त रसायन मिथानोल मिसाइएको पाइएको सूचनामा उल्लेख छ ।

विभागद्धारा जारी सूचना अनुसार भक्तपुरको नेपाल कायाकल्प उद्योगको इनस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको हाइजिन सोप एण्ड क्यामिकल प्रालीको इनस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल र काठमाडौंको आधार क्यामिकल्स एण्ड फुड इन्डस्ट्री प्रालीको एडभान्स ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन मिसाइएको पाइएको हो । यस्तै, काठमाडौंको सर्च केम कम हर्बल प्रोडक्टस्को इनस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र काठमाडौंको सूर्यमुखी हर्बल प्रोडक्टले उत्पादन गरेको सूर्यमुखि ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन मिथानोल मिसाइएको छ ।

“स्यानिटाइजरमा विषाक्त रसायान मिसाइएको पाइएकोले मानव स्वास्थ्यमा गम्भिर नकारात्मक असर पर्ने हुँदा सर्वसाधारणले प्रयोग नगर्नरनगराउनु हुन र साथै त्यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्रि वितरण अविलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवालालाई सूचीत गरिन्छ,” विभागद्धारा जारी सूचनामा भनिएको छ ।