जनता टाइम्स

२७ भाद्र २०७७, शनिबार ११:४०

भक्तपुर हत्या प्रकरण : सुदीपको घर लिलामीको अवस्थामा पुगेपछि…


भक्तपुर, भदौ २७

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित एकै घरमा शुक्रबार साँझ मृत फेला परेका तीन जनाको हत्यापछि आत्महत्या भएको आशंका गरिएको छ । घरधनी ३७ वर्षिय सुदीप अधिकारी, श्रीमती ३४ वर्षिय सम्झना, १५ वर्षका छोरा सुशान्त र घरमा पालिएको कुकुरसमेत मृत अवस्थामा फेला परेको थियो ।

शवको प्रकृति हेर्दा प्रारम्भिक रुपमा हत्यापछि आत्महत्या भएको देखिएको प्रहरीको शुरुवाति अनुसन्धानबाट देखिएको छ । ‘सुदीपले नै दुई जनाको हत्या गरी आत्महत्या गरेको जस्तो देखिएको छ’, एक प्रहरी अधिकारीले भने । सम्झना र सुशान्तको शव सड्न शुरु भईसकेको र सुदीपको शव अलिक आलो नै देखिएको छ । ‘सुदीप भन्दा सम्झना र सुशान्तको शव पुरानो देखिएकाले दुई जनाको मृत्यु पहिला नै भएको देखिन्छ’, अनुसन्धानमा खटिएका ति अधिकारीले भने,‘सुदीपले पनि विष सेवन गरेको र वान्ता समेत गरेको देखिएको छ ।’

तीनै जनाको शव पोष्टमार्टम र जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । घटनास्थलमा पुगेका प्रहरीका अनुसार सम्झना र छोरा सुशान्तको खुर्पा प्रहार गरी हत्या गरेको देखिएको छ । उनिहरुको खप्परमा चोट देखिएको छ । यता सुदीपको भने शरीरमा चोट देखिएको छैन । ‘उनको शरीरमा चोटपटक पनि देखिँदैन,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘घटनास्थलबाट हामीले दुई वटा सल्फरको बट्टा पनि फेला पारेका छौं।’

त्यस्तै घरको शौचालयमा सुदीपले वान्तासमेत गरेको देखिएको छ। ‘यसरी सबुत प्रमाणहरूलाई हेर्दा आमा–छोराको मृत्यु पहिले भएको देखिन्छ भने सुदीपको पछि अर्कै कारणले भएको देखिन्छ,’ ती अधिकृतले भने। सो घरमा उनीहरूबाहेक अरू बसेको देखिन्न । तल्लो सटरमा उनीहरूको किराना पसल छ। छिमेकीहरुले दिएको जानकारी अनुसार सुदीप केही महिना पहिला एक औषधी पसलमा जागिर गरिरहेका थिए । सो जागिर छाडेपछि परिवारमा विवाद सिर्जना हुने गरेको र झगडा समेत हुने गरेको बताएका छन् ।

यसैगरी, सुदीपले ससुरालीबाट दुई लाख रूपैयाँसमेत लिएको देखिन्छ । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापाका अनुसार उनीहरूको घर पनि लिलामी हुने अवस्थामा पुगिसकेको थियो भने सुदीप बेरोजगार थिए । शव पोष्टमार्टमपछि केही कारण खुल्ने एसएसपी थापाले बताउनु भयो ।