जनता टाइम्स

२७ भाद्र २०७७, शनिबार २१:१६

तीनकुनेमा नेपाली सेनाको एभ्रो विमान अड्किएपछि…


काठमाडौं, भदौ २७

शनिबार साँझ काठमाडौंको तीन कुने सडकमा नेपाली सेनाको विमान अड्किएको छ । पहिलो लाइन पढ्ने वित्तिकै तपाई अलमलमा पर्नुभयो होला । कुरा पनि अलमल मै पर्ने खालको छ । तर, सो लाइन सहि छ ।

नेपाली सेनाको विमान सडकमै गुडिरहेको थियो, आफै नभएर त्यसलाई मिनी ट्रकको साहराले तानिएको हो । यो विमान कुनै आपतकालीन रुपमा सडकमा अवतरण भने गरेर तानिएको होइन् । त्रिभुवन विमानस्थलले दिएको जानकारी अनुसार पुरानो तर ऐतिहासिक सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राख्न लगिएको हो ।

विमानस्थलबाट नारायणहिटीसम्म लैजाने विमानको पखेटा निकालिएको छ । तर, विमानस्थलबाट तीनकुनेतर्फ आउने बाटामा रहेको रेलिङमा पछाडिको भाग ठोक्किएपछि सो क्षेत्रमा नेपाली सेना र ट्राफिक प्रहरीलाई सास्ती भएको छ ।

मानिसहरु पनि दंग परेर सो विमान हेर्ने भिड लागेका थिए । यो विमान यसकारण ऐतिहासिक हो कि तत्कालिन राजा विरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए । यो विमान वि. सं. २०३१ सालमा नेपाल ल्याइएको थियो ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको थियो ।

गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार नै यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलीकोप्टोर संग्राहलयमा लगिसकिएको छ । यो एभ्रो विमानलाई संग्राहलयभित्रको ‘बदाम चौर’मा राखेर आवश्यक तयारीपछि सर्वसाधारणका लागि हेर्न यो खुल्ला गरिनेछ ।