सिन्धुपाल्चोक, भदौ २८
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा खसेको पहिरोमा परेका ६ जनाको शव फेला परेको छ । पहिरोले १२ वटा पूर्ण रुपमा बगाएको छ भने अन्य १३ घरमा पनि क्षति पुगेको छ ।
दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ६ जनामध्ये २ जनाको परिचय खुलेको छ । घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
अझै २० जना बेपत्ताको प्रहरीले जानकारी दिएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको छ । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी पुगिसकेको छ ।
त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी पनि पुगेर उद्धार र खोजीमा खटिइसकेका छन् । राजनीतिक दलका स्थानीय कार्यकर्तापनि उद्धार कार्यमा जुटेका छन् । सिन्धुपाल्चोकमा पटक पटक पहिरो गएर ठुलो मानविय क्षति पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्