भक्तपुर, भदौ २८
मध्यपुर थिमी नगरपालिका–६ कुण्डोलमा भएको हत्या प्रकरणमा पोष्टमार्टमको रिपोर्ट आएको छ । प्रहरीले दिएको जानकारी अनुसार आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको देखिएको छ । पहिला आमा (३४ वर्षीय सम्झना) र त्यसपछि छोरा (१५ वर्षीय सुशान्त)को हत्या भएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार पोष्टमार्टम रिपोर्टमा आमाको टाउकोमा धारिलो हतियार प्रयोग गरेको र छोरोका भने घाटी समेत रेटिएको अवस्था पाइएको बताउनु भयो । ‘छोरा र श्रीमतीको शव कुहिएको थियो । उनीहरुको मृत्यु ४-५ दिनअघि भएको देखिन्छ भने सुदीपको शव सामान्य थियो । पोस्टमार्टम रिपोर्टमा श्रीमती र छोराको टाउको धारिलो हतियार प्रयोग गरेको पाइएको छ । छोराको घाँटीसमेत रेटेको पाइएको छ’, उहाले भन्नुभयो ।
सुदीपले सुतेकै अवस्थामा पहिले श्रीमती र छोराको हत्या गरेर त्यसको केही दिनपछि आफूले विष सेवन गरेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरनजिकै सेल्फास नामक विषादीको सिसी भेटिएको छ भने कचौरामा विष घोलेको समेत पाइएको छ । प्रहरीका अनुसार सुदीपले हत्यापछि श्रीमतीलाई सेतो कात्रो र छोरालाई पहेलो वस्त्र ओढाएका थिए । छोरा र श्रीमतीको हत्यापछि प्रायश्चित गर्दै आफूले समेत आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
एसएसपी थापाका अनुसार सुदीपले एक वर्षअघि घर धितोमा राखेर कृषि विकास बैंकबाट २३ लाख ८५ हजार र २ महिनाअघि ससुरालीबाट दुई लाख रुपैयाँ ऋण लिएको देखिएको छ । प्रहरीलाई छिमेकीले दिएको जानकारीअनुसार बैंकको ऋणका कारण उनीहरुको घरमा तनाव थियो । छोरा सुशान्तको पढाइसमेत राम्रो भएकाले उनले उच्च शिक्षामा राम्रै विषय अध्ययन गर्ने बताउँदै आएका थिए । ऋणकै कारण सुदीपले मदिरा सेवन गर्दै आएका थिए । उनीहरुले आफ्नै घरको सटरमा किराना पसलसमेत राखेका थिए ।
सुदीप २१ गते छोरासहित श्राद्ध खान ससुराली गएको र सोही साँझ उनी फर्किएका थिए । छोरालाई भने २२ गते लिएर आएर २३ गते उनले आफ्नै घर मुनि रहेको पसल खोलेका थिए । स्थानीयका अनुसार २४ गतेबाट भने पसल नखोलेको बताएका छन् । प्रहरीका अनुसार सोही रात हत्या भएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्